काठमाडौं। स्ट्रीम पीक इन्टरनेशनलले जनकपुरमा पहिलोपटक चारतारे स्तरको होटल संचालनमा ल्याउने भएको छ। कम्पनीले जानकी वृहत परियोजना अन्तर्गत रहेको यात्री निवास लिजमा लिएर लक्जरियस होटल संचालनमा ल्याउन लागेको हो।
जानकी मन्दिर स्थित (दशरथ तलाउ) सँगै रहेको होटल आउँदो फेब्रुअरी दोस्रो हप्ताबाट संचालनमा आउने भएको छ। संचालन सँगै सम्भाव्यता अध्ययनपछि डेढ वर्षभित्र होटलमा क्यासिनो पनि संचालनमा ल्याउने कम्पनीले बताएको छ। हामी पहिला होटल संचालनमा ल्याउनेछौँ। कम्पनीका एक उच्च पदाधिकारीले भने, जनकपुरधाम दर्शन गर्न आउने धार्मिक पर्यटकलाई मध्यनजर गर्दै होटल संचालनमा ल्याउन लागेका हौँ।
कम्पनीका अनुसार होटलको नामाकरण हुन बाँकी रहेको छ। दुई चरणमा विस्तार गर्न लागिएको यो होटल मर्मत संभार र विस्तारका लागि २५ करोड रुपैयाँ लाग्नेछ। पहिलो चरणमा करिब आठ करोड रुपैयाँ लगानी गरेर तीन तारेस्तरमा होटल संचालनमा ल्याइनेछ। उक्त होटलले गर्दा यस क्षेत्रको आर्थीक विकासमा पनि टेवा पुग्ने आशा गरिएको छ।
कम्पनीका अनुसार पहिलो चरणमा कम्पनीले ३२ वटा कोठा, सात सय जना क्षमताको ब्यांकेट हल, आउटडोर लाउन्ज, अल डे डाइनिङ रेष्टुरेण्ट लगायत सुविधा हुनेछ। संचालनमा आएको एक वर्षमै कम्पनीले होटलमा थप ४२ वटा कोठा सँगै स्वीमिङ पुल, रुफटप रेष्टुरेण्ट, दुईवटा मिटिङ हल लगायत सेवा विस्तार गर्ने योजना रहेको छ।
सुरुमा होटलले ४० जना कर्मचारी नियुक्ति गर्ने योजना बनाएको छ। दोस्रो चरणको विस्तार भएसँगै करिब एक सय जना जनशक्ति राख्ने कम्पनीले जानकारी दिएको छ।