पाँचथर। पाँचथरको फिदिम नगरपालिकामा ५० प्रतिशत अनुदानमा विद्युतीय चुल्हो वितरण गर्न सुरु गरिएको छ। भान्छामा सहजता ल्याउन भन्दै नगरपालिकाले आफ्ना नागरिकलाई ५० प्रतिशत अनुदानमा चुल्हो वितरण सुरु गरेको हो ।
इन्धनको बचत र वातावरण संरक्षणसँगै ग्याँसको खपत घटाउन नगर क्षेत्रका सबै वडामा विद्युतीय चुल्हो वितरण सुरु गरेको पालिकाले जनाएको छ।
१४ वटा वडा रहेको नगरपालिकामा सवैभन्दा धेरै विद्युतीय चुल्होको माग वडा नम्वर–४ बाट आएको छ । जहाँबाट १ सय २८ जनाले चुल्हो माग गर्दै निवेदन दिएको पालिकाले जनाएको छ । चुल्हो वितरणको सुरुवात सोमबार नगरप्रमुख मित्रप्रसाद काफ्ले, उपप्रमूख राधाकृष्ण न्यौपाने र वडा नम्वर–४ का अध्यक्ष उपेन्द्र लावतीले गरे।
विधुतीय चुल्हो वितरण फिदिम नगरपालिका ४ बाट सुरु गरेको नगरपालिकाले जनाएको छ । यस वर्ष करिब एक हजार उपभोक्तालाई विद्युतीय चुल्हो वितरण गर्ने लक्ष्य नगरपालिकाको छ ।