काठमाडौं। विद्युतीय सवारीसाधन प्रवर्द्धनका लागि हरेक पेट्रोल पम्पमा चार्जिङ स्टेशन राख्न सकिने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन्। बुधबार आयोजित नाडा अटोमोबाइल्स एशोसिएसनको वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन्।
विद्युतीय गाडीका लागि देखिएको चार्जिङ स्टेशनको समस्या समाधान गरिनेछ। हरेक पेट्रोल पम्पमा चार्जिङ स्टेशनको व्यवस्था गरिनेउनले जानकारी दिए। उनले भएकै स्रोतसाधनको प्रयोगबाट मुलुकको समृद्धि सम्भव रहेको पनि उनले बताए।
विद्युत र श्रम हाम्रो मूख्य तागत शक्ति हो। त्यही शक्तिबाट मुलुकको मुहार फेर्न सकिन्छ। अर्थमन्त्री शर्माले परम्परागत रुपमा रहेका नीति परिवर्तन गर्ने प्रतिवद्धता समेत जनाएका छन्।
उनले केही क्षेत्रमा सहुलियत दिन सकेमा अन्तर्राष्ट्रिय उत्पादनसँग स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न सक्ने जानकारी दिए। अर्थमन्त्री शर्माले सरकार शासन भन्दा पनि सेवा गर्न बसेको बताउँदै सरकारका कमजोरीका बारेमा सुझाब दिन समेत अनुरोध गरेका छन्।