काठमाडौं। विद्युत् व्यापारका लागि ‘नेपाल पावर ट्रेडिङ कम्पनी’ (एनपीटीसी) लाई इजाजत दिने तयारी थालिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले एनपीटीसीलाई इजाजत दिने प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको हो ।
ऊर्जा मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालले विद्युत् क्षेत्रमा प्रतिस्पर्धी वातावरण बनाउन उत्पादन, प्रसारण तथा वितरणका लागि खुला नीति लिनु आवश्यक भएको बताएका छन्। त्यसकै लागि नेपाल पावर ट्रेडिङ कम्पनीलाई अनुमति दिन मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको उनले बताए। विद्युत् व्यापार कम्पनी स्थापनाका लागि अहिलेको कानुनी व्यवस्था स्पष्ट छैन । त्यस्ता कम्पनीलाई कुन निकायले इजाजत दिने र नियमन गर्ने भन्ने विषयमै अन्योल छ । ऊर्जा मन्त्रालयले प्राधिकरणको सहायक कम्पनी मात्र नभई निजी क्षेत्रलाई पनि यस्तो इजाजत दिन सकिने बताउँदै आएको छ । तर त्यसको कानुनी आधार नबनिसकेका कारण मन्त्रिपरिषद्को विशेष अधिकारबाट इजाजत दिन लागिएको हो ।
प्राधिकरणले आफ्नो सहायक कम्पनीका रूपमा एनपीटीसीलाई २०७३ फागुन २४ मा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गरेको देखिन्छ । कम्पनी ऐन २०६३ अनुसार दर्ता भएको यो कम्पनीमा प्राधिकरणको ५१ प्रतिशत सेयर स्वामित्व प्रस्ताव गरिएको छ ।