काठमाडौं । बागमती सफाइ अभियान ४४३ औँ सातामा प्रवेश भएको छ । २०७० जेठ ५ गते शुरु भएको सफाइ अभियान ४४३ औँ सातामा प्रवेश भएको हो ।
गुह्येश्वरी मन्दिर अगाडिको नदी किनारमा छठ पर्व मनाउन बाँस गाडेर छठ घाटलगायत संरचना निर्माण भइरहेको छ । त्यस क्षेत्रमा सफाइ महाअभियानले ४४३औँ हप्ताको सफाइ गरेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सदस्य डा.माला खरेलले जानकारी दिए ।
सफाइबाट जम्मा गरिएको फोहोर अधिकार सम्पन्न बागमतीको कार्यालय आगाडि थुपारिएको छ । काठमाडौँ महानगरपालिकाले फोहोर व्यवस्थापन गर्ने जनाइएको छ । हिजो तिहारको भाइटीका परे पनि सफाइमा १०० जनाभन्दा बढी अभियानकर्मीको सक्रियता थियो । सफाइमा पूर्व मुख्यसचिव लीलामणि पौडेल, अधिकार सम्पन्न सफाइ समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, समितिका कर्मचारी, अभियानकर्मीलगायतको उपस्थिति थियो ।
महाअभियान शुरु भएपछि काठमाडौँ उपत्यकामा बागमती सहायक नदी सफाइ अभियान पनि शुरु भएको छ । चक्रपथका विभिन्न खण्डसमेत गरी हाल काठमाडौँ उपत्यकामा २५ स्थानमा सफाइ भइरहेको छ । सांस्कृतिक सम्पदामा पनि बागमतीकै प्रभावले सफाइ भइरहेको छ । हाल उपत्यकाको गुह्येश्वरीमाथिको बागमती, रुद्रमती, विष्णुमतीको तल्लो र माथिल्लो भाग, मनोहरा, ललितपुरको गोदावरी खोलालगायत स्थानमा सफाइ भइरहेको छ ।