नेपालगञ्ज। १३ अर्बको लागतमा आठ वर्षमा सम्पन्न गर्ने उद्देश्यका साथ सुरु गरिएको सिक्टा सिँचाइ आयोजना १८ वर्षमा पनि पूरा हुन सकेको छैन । समय थपिँदै जाँदा आयोजनाको लागत बढेर ५३ अर्ब पुगेको छ ।
बाँकेका किसानको भाग्य चम्काउने विश्वास गरिएको राष्ट्रिय गौरवको सो आयोजनाको गुरुयोजना पटक पटक संशोधन गरेर लागत समेत बढाउँदै लगिएको हो ।
सिक्टा सिँचाइ आयोजनाका सिनियर डिभिजनल इन्जिनियर विशाल यादवले आठ वर्ष भित्र निर्माण पूरा गर्नेगरी २०६२ सालमा सुरु गरिएको सो आयोजनाको निर्माण विभिन्न कारणले १८ वर्ष बितिसके पनि अझै पूरा हुननसकेको बताए।
उनले समय थपिँदै जाँदा लागत पनि बढ्दै गएर सुरुमा १२ अर्ब ७० करोडको लागत निर्धारण गरिएपनि अहिले आएर सो लागत ५२ अर्ब ८९ करोड पुगेको बताए।
सिनियर डिभिजनल इन्जिनियर यादवका अनुसार राप्तीसोनारी गाउँपालिकाका केही वडा र नरैनापुर गाउँपालिकाका सबै वडामा सिँचाइ पुर्याउन पूर्वी नहरको ९ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार गर्ने गरी पहिलो गुरुयोजना संशोधन भएको थियो ।
उनले भने–‘गुरुयोजना परिमार्जन गरेर आर्थिक वर्ष २०७६।७७ सम्ममा २५ अर्ब २ करोडको लागतमा काम पूरा गर्ने लक्ष्य राखिएको थियो । दोस्रोपटक निर्धारण गरिएको लक्ष्यअनुरूप काम नभएपछि तेस्रोपटक आयोजनाको लागत र समयसीमा बढाएर ५२ अर्ब ८९ करोडको लागत पुर्याइएको छ ।’
यादवका अनुसार तेस्रो फेजको गुरुयोजना अनुसार अब आर्थिक वर्ष ०८९।९० मा सिक्टा सिँचाइ आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ । तेस्रो फेजबाट नहर, मूल नहर, शाखा, प्रशाखा निर्माण गर्ने मात्र नभई सिञ्चित क्षेत्र बचाउको कार्यक्रम पनि राखिएको छ ।
सिक्टा सिँचाइ आयोजनाको काम सम्पन्न भएमा पश्चिमी नहरबाट बाँकेको राप्तीसोनारी गाउँपालिका, कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका, जानकी गाउँपालिका, खजुरा गाउँपालिका, डुडुवा गाउँपालिका र नेपालगञ्ज उपमहानगरपालिकाको ३३ हजार ७६६ हेक्टर र पूर्वी नहरबाट राप्तीसोनारीका केही वडा र नरैनापुर गाउँपालिकाको गरी ९ हजार हेक्टर गरी ४२ हजार ७६६ हेक्टर कृषियोग्य खेतमा पानी पुग्नेछ । ४६ हजार ७१५ किसान परिवारले वर्षभरि नै सिँचाइ सुविधा पाउनेछन् । उत्पादकत्वमा करिब २ गुणा वृद्धि हुने किसानको आशा छ ।
आयोजना कार्यालयका अनुसार सिक्टा सिँचाइको पश्चिमी मूलनहर ४५.२५ किलोमिटर निर्माण भइसकेर १६ हजार हेक्टरमा सिँचाइ सुविधा पुगिसकेको छ भने पूर्वी नहरको ५३.५ किलोमिटरमध्ये ३९.६७५ किलोमिटरको काम सम्पन्न भएर करिब पाँच हजार हेक्टरमा सिँचाइ सुविधा पुगिसकेको छ ।
कृषि ज्ञान केन्द्र नेपालगञ्जका अनुसार बाँकेमा ५२ हजार हेक्टर खेतीयोग्य जमिन छ । ३६ हजार हेक्टरमा धान खेती हुन्छ । अधिकांश स्थानमा आकासे पानीको भर पर्नुपर्थ्यो । तर, हाल सो आयोजनाबाट करिब २१ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेकाले किसानलाई राहत भएको छ । गोरखापत्रबाट