बाँके । सिँचाइ सुविधा विस्तार भएसँगै बाँकेका किसान वर्षमा तीन बाली खेतीतर्फ आकर्षित भएका छन्। पहिले आकासे पानीमा निर्भर रहँदै आएका किसान अहिले धानपछि आलु वा तोरी र त्यसपछि वसन्ते मकै खेती गर्न थालेका छन्।
कृषि ज्ञान केन्द्रका अनुसार सिँचाइको उपलब्धताले नगदे बालीतर्फ किसानको रुचि बढेको छ। विशेषगरी आलु र मकै खेतीबाट राम्रो आम्दानी हुन थालेपछि तीन बाली प्रणाली लोकप्रिय बन्दै गएको छ। केन्द्रले पनि बीउ तथा प्राविधिक सहयोगमार्फत किसानलाई प्रोत्साहन गर्दै आएको छ।
सिक्टा सिँचाइ आयोजनाले हालसम्म करिब २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याइसकेको छ। कुल ४२ हजार हेक्टर क्षेत्र सिँचाइ गर्ने लक्ष्य राखिएको आयोजनाले नहरमार्फत नियमित पानी उपलब्ध गराउँदै आएको छ।
सिँचाइ सुविधा पुगेपछि बाँकेमा कृषि उत्पादन बढ्नुका साथै किसानको आम्दानीमा समेत सुधार आएको सरोकारवालाहरूको भनाइ छ।