काठमाडौँ । सोलुखुम्बुको दुधकोशी नदीमा ११० मेगावाट क्षमताको दुधकोशी पाँचौँ जलविद्युत् आयोजना निर्माण हुने भएको छ। माप्य दुधकोशी गाउँपालिका–२, ३, ४, ६ र ७ मा फैलिने गरी आयोजना प्रस्ताव गरिएको हो।
आयोजनाअन्तर्गत विद्युत्गृह माप्य दुधकोशी गाउँपालिका–४ काँकुखोला र दुधकोशी नदीको सङ्गमबाट करिब ७ सय ३० मिटर माथि रहनेछ। आयोजना सम्पन्न भएपछि राष्ट्रिय प्रसारण प्रणालीमा वार्षिक ६१७.८६ गिगावाट घण्टा विद्युत् आपूर्ति हुने अनुमान गरिएको छ।
विद्युत् विकास विभागले यसअघि नै आयोजनालाई अर्ध–जलाशययुक्त प्रकृतिमा निर्माण गर्न सहमति दिइसकेको छ। इन्डेपेन्डेन्ट पावर कम्पनी नेपालले आयोजना निर्माण गर्ने जनाएको छ।
आयोजनाको कुल लागत करिब १९ अर्ब ११ करोड रुपैयाँ रहनेछ भने प्रतिमेगावाट लागत लगभग २० करोड रुपैयाँ पर्ने बताइएको छ। आयोजना पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।