काठमाडौं। नेपालको पर्वतीय एवं उच्च हिमाली क्षेत्रका फोहोर व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ। फोहोरलाई दिगो व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय मार्ग निर्देशन बनाउने उदेश्यले आगामी जुनमा नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको हो।
सम्मेलनका सबै कामको मोडालिटी तय गर्न नेपाल बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मी र स्पेसिनस कम्पनी द नेभररेस्ट प्रोजेक्टका प्रोजेक्ट डाइरेक्ट फेडरिक काउफमेनबीच सम्झौता भएको छ ।
सम्मेलनमा हिमालय क्षेत्रका काम गरेका विभिन्न वैज्ञानिक, इन्जिनियर, वातावरण विज्ञ, डाक्टरलगायत सहभागिता रहने भएको छ।
सम्मेलनमा यसअघि नेपाली सेनाले गर्दै आएको हिमाल सरसरफाइसम्बन्धी तथ्यांकको अध्ययन तथा विश्लेषण गरिने बोर्डका कार्यकारी प्रमुख डा.रेग्मीले बताए। उनका अनुसार विश्वका अन्य देशका पर्वतीय एवं उच्च हिमाली क्षेत्रमा रहेको फोहरको दिगो व्यवस्थापनमा भएका मोडालिटीहरुको पनि अध्ययन हुनेछ। विश्वभर नै पर्वतीय एवं उच्च हिमाली क्षेत्रमा हुने फोहोर व्यवस्थापन तथा सरसफाइबारे अध्ययन अनुसन्धानबाट मापदण्ड बनाइने रेग्मीले जानकारी दिए।