काठमाडौं। मंसिर २२ देखि आयोजन हुन लागेको रामजानकी विवाह पञ्चमीलाई मध्यनजर गर्दै जनकपुरधाममा वृहत सरसफाइ अभियान सुरु भएको छ। बुधवार विहान प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसहितको सहभागितामा रंगभूमि मैदान बाह्र बिघा, जानकी मन्दिर आसपास सरसफाइ गरिएको हो।
उक्त सरसफाइ कार्यक्रम जनकपुरधाम उपमहनगरपालिकाको अगुवाईमा भएको हो। सोही कार्यक्रममा मुख्यमन्त्री राउत आफै झाडु बोकेर सरसफाईमा उत्रिएका थिए। कार्यक्रममा जनकपुर उपमहानगरका मेयर लालकिशोर साह, जानकी मन्दिरका छोटा महन्थ रोशन दास, प्रदेश सरकारका विभिन्न मन्त्रालयका कर्मचारी, उपमहानगरपालिका कर्मचारी तथा सुरक्षा निकायका पदाधिकारी तथा सुरक्षाकर्मीहरूक सहभागी रहेको थियो।
विवाह पञ्चमीमा स्वदेश तथा विदेशबाट समेत श्रद्धालु भक्जनक्तजनहरू आउने भएकाले सरसफाईमा जोड दिएको हो। केही दिनअघि सरसफाई कर्मचारी र केही वडाअध्यक्षबीच विवाद भएपछि नियमित सरसफाइ रोकिएको थियो। कर्मचारीहरू सरसफाई रोकेर आन्दोलनमा उत्रेपछि जनकपुर दुर्गन्धित बनेको थियो। मेयर साहलगायत केही वडाध्यक्षले पछि काममा फर्कन आग्रह गरेपछि सोमबारदेखि कर्मचारीले काम थालेको हुन्। दुर्गन्धित भएको जनकपुरधाम अहिले हेर्न लाएक बनेको छ। विवाह पञ्चमीमा आउने भक्तजनहरु पनि यहाँको वातावरणमा आनन्द लिने छन्।