काठमाडौं। विश्व सम्पदा सूचीमा सूचीकृत रहेको पशुपतिनाथ परिसरलाई स्वच्छ र सफा बनाउने उद्देश्यले सुरु भएको स्वच्छ पशुपति अभियानअन्तर्गत शनिबार परिसर सफाइ गरिएको छ। पशुपति क्षेत्र धार्मिक पर्यटकीय स्थल भएको कारणले पनि पर्यटकको आकर्षण बढाउने उद्देश्यले सफाइ थालिएको हो।
पशुपति क्षेत्रलाई विश्वभर फैलिएका वैदिक सनातन धर्मावलम्बीको तीर्थस्थल एवं अन्य धर्मावलम्बीको गन्तव्यस्थलका रूपमा विकास गर्न स्वच्छ बनाउने अभियान गत असोज पहिलो सातादेखि सुरु भएको थियो। शनिबारको सफाइमा कलाकर्मी, समाजसेवी एवं मेरिल्याण्ड राज्य अमेरिकाका अवैतानिक महावाणिज्यदूत प्रेमराजा महत, नायक शिव श्रेष्ठ, पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा मिलनकुमार थापालगायत अभियानकर्मीको सक्रियता रहेको पशुपति सरसफाइ अभियानका संयोजकले जानकारी दिएका छन्।
सफाइका क्रममा पशुपति क्षेत्रमा जम्मा भएका कुहिने र नकुहिने फोहर वर्गीकरण गरेर व्यवस्थापन गरिएको थियो। यसैगरी सफाइबाट सङ्कलन गरिएको फोहर काठमाडौं महानगरपालिकाको गाडीमा पठाइएको जनाइएको छ। असोज पहिलो सातादेखिको प्रत्येक शनिबार पशुपति क्षेत्रमा विशेष सफाइ अभियान सुरु भएको र सफाइमा कलाकारको विशेष सहभागिता रहने गरेको जनाइएको छ।
उक्त सफाइका क्रममा गुर्जोलगायत ४८ प्रकारका जडीबुटीबाट बनेको चियाको पोकासमेत निःशुल्क वितरण गरिएको थियो। सफाइका क्रममा गुर्जो अभियानकर्मी एवं आन्तरिक राजस्व कार्यालय धुलिखेलका कार्यालय प्रमुख कमलबहादुर राजलवटले गुर्जोबाट बनेको चियाको सेवन पनि गराएका थिए। शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने गुर्जो चिया ग्याष्टिकलगायत धेरै रोगका लागि औषधिको समेत काम गर्ने आयुर्वेदका चिकित्सकको भनाइ रहेको छ।