पर्सा। अस्पतालबाट निस्किएका फोहोर व्यवस्थापन गर्न वीरगञ्ज महानगरपालिका-१६ नगवा गाउँमा निर्माण गरिएको ‘ग्रीन हस्पिटल मेनेजमेन्ट सेन्टर’ सञ्चालनमा आएको छ। ६ करोड २२ लाख ७७ हजार ९८१ रुपैयाँमा निर्माण भएको सेन्टरको सोमबार महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले उद्घाटन गरेका छन्।
गत असार १५ गते नै निर्माण सम्पन्न भए पनि सेन्टरको हस्तान्तरण लगायतको प्रकृयाले उद्घाटन र सञ्चालनमा विलम्ब भएको महानगरको योजना शाखाका इन्जिनियर प्रकाश अधिकारीले जानकारी दिए।
वीरगञ्जका दुई दर्जनभन्दा बढी अस्पताल र दर्जनौं क्लिनिकबाट निस्किने फोहोर उक्त केन्द्रमा व्यवस्थापन गरिने छ। सेन्टरमा दुई वटा ‘अटो क्लेव’ तयारी अवस्थामा राखिएको छ। यहाँ जडान गरिएका अटो क्लेव नेपालकै सबैभन्दा ठूलो साइजको भएको सो जडान गर्ने कम्पनी अमृत जलुकेनी जेभीका प्रतिनीधि नवराज खड्काले बताए।
त्यसै गरी एकै दिन ४ टन फोहोर प्रशोधन गर्न सक्ने २१ किलोको वासिङ मेसिन पनि सेन्टरमा जडान गरिएको वीरगञ्ज महानगरपालिकाले जनाएको छ। २०७७ मंसिर २५ गते सम्झौता भएको सेन्टरको निर्माण कार्य गत असार १५ मा सम्पन्न भएको थियो।