काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सहरी सरसफाइ र स्वच्छता कायम गराउने दायित्वमा गल्ती गर्ने छुट कसैलाई नभएको बताएकी छन् ।
फोहर सङ्कलन, वर्गीकरण र ढुवानी गर्ने निजी क्षेत्रका प्रतिनिधिहरुसँग सहरी सरसफाइको अभ्यास, यसको दिगोपनाका लागि गर्नुपर्ने नीतिगत र व्यावहारिक सुधारका पक्षमा उनले छलफल गरेकी थिइन् ।
सो छलफलका क्रममा प्रमुख डङ्गोलले सहरका सडक, सडक किनारा, ढल प्रणाली, पार्क, गल्ली, चोक र मानिसका घरका ढोका कतै पनि फोहरका पोका थुप्रिएको अवस्थामा नराख्न मातहतका निकायलाई निर्देशन दिइन् ।
उनले भनिन्, “तोकिएको समय र विधिबाट फोहर सङ्कलन हुनुपर्छ । सडक बढार्नुपर्छ । सहरी सरसफाइमा फोहर उत्पादकदेखि व्यवस्थापकसम्म सबैको जिम्मेवारी छ । आफू जिम्मेवार नबन्ने, अरुलाई दोष देखाउने प्रवृत्तिलाई निरुत्साहित गर्दै जानुपर्छ ।”
कामपाले घरेलु फोहरसँगै उत्पादन हुने सुक्खा फोहर बिक्री गर्न सात क्षेत्रमा विभाजन गरेर आय ठेक्का लगाएको पनि वातावरण विभागले जनाएको छ । रिफ्युज, रिड्युस, रियुज, रिपेयर र रिसाइकल फोहरको दिगो व्यवस्थापनका विधिलाई महानगरले प्रवद्र्धन गरिरहेको जनाएको छ ।