काठमाडौं। रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ स्थित मुख्य चोकमा जथाभावी फोहोर फाल्नाले दिनानुदिन दुर्गन्धित बन्दै गएको छ। त्यहाँका स्थानीयले पटक–पटक फोहोर फाल्नेलाई कारबाही गर्न माग गर्दै आएको भएपनि नगरपालिकाको बेवास्ताले चन्द्रपुरको मुख्य चोक दुर्गन्धित बन्दै गएको हो।
होटल व्यवसायीले होटलबाट निस्कने फोहोर जथाभावी फाल्ने गरेका कारण मुख्य चोकको सडक हिलाम्य बनेको छ। यसले गर्दा यात्रु तथा स्थानीयलाई हिँडडुल गर्न समस्या भएको छ।
सडक फराकिलो भएसँगै सवारी आवागमन सहज हुने विश्वास गरिए पनि हाल चार लेनको सडकको दुई लेन बसपार्कमा परिणत भएको छ। होटल व्यवसायीले नालामा छाडेको पानी सडकमा बग्न थालेपछि पार्किङ क्षेत्र फोहोर पानीले भरिएको छ। होटल व्यवसायीलाई पटक–पटक फोहोर पानी नफाल्न भनेको भएपनि अटेर गर्ने गरेका कारण बसपार्क क्षेत्र दुर्गन्धित बन्दै गएको हो।
नगरभित्रको सडक र फुटपाथको व्यवस्थापन गर्ने जिम्मेवारी नगरपालिकाको भएको र फोहोरकै कारण दुर्घटना जोखिम बढेकाले ढल निकास र व्यवस्थित पार्किङ संरचना बनाउन लागिएको गर उपप्रमुखको भनाइ छ।
दुई वर्षअगाडी डिभिजन सडकले चोकको उत्तरतर्फ सानो नाला बनाएको थियो। त्यही नालामा होटल व्यवसायीले फोहोर फाल्ने गरेको तर बेलाबेलमा नाला सफा गर्नुपर्ने भएपनि नगरिएको जनाइएको छ। होटल सञ्चालकको बदमासीले चोकमा हिँड्नै नसक्ने अवस्था आएको चन्द्रपुर वडा नम्बर ४ का स्थानीयले जानकारी दिएका छन्।