काठमाडौं। बागमती नदीको शंखमूल क्षेत्रबाट चार मेट्रिक टन फोहोर निकालिएको छ। बागमती सफाइ महाअभियानको ४५२औँ हप्तामा गरिएको सफाइबाट बागमती किनार दायाँबायाँबाट चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको हो।
सफाइमा पूर्वमुख्यसचिव एवं मुख्य अभियानकर्मी लीलामणि पौड्याल, अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, काठमाडौँ महानगरपालिका–११ का अध्यक्ष हीरालाल तन्डुकार, विभिन्न सङ्घसंस्था, स्थानीयवासी, अधिकारसम्पन्न बागमती समितिका कर्मचारी र बागमती सफाइ अभियानकर्मीको सक्रियता थियो।
सफाइबाट जम्मा भएको फोहर काठमाडौँ महानगरपालिकाको गाडीबाट व्यवस्थापन गरिएको छ। अर्को हप्ता माघ १ गते शनिबार शङ्खमूल पुल क्षेत्रमा बिहान सफाइ गरिने बताइएको छ।
हाल काठमाडौँ उपत्यकामा २५ स्थानमा सफाइ भइरहेको छ। काठमाडौँ उपत्यका बाहिरका मुख्य नदी, सहर र सांस्कृतिक सम्पदास्थलमा पनि सफाइ भइरहेको छ। काठमाडौँ उपत्यका बाहिर १०९ स्थानमा सफाइ अभियान शुरू भएको छ ।