काठमाडौं। कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिकामा फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको काम अगाडि बढ्ने भएको छ। एशियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको कार्यले गति लिने भएको हो।
बुधबार सरकारले वन क्षेत्रको जग्गाको भोगाधिकार दिने निर्णय गरेपछि फोहरमैला व्यवस्थापन केन्द्र निर्माणको कार्य अगाडी बढने भएको छ। वन तथा वातावरण मन्त्रालयले फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि सामुदायिक वन क्षेत्रको जग्गाको भोगाधिकार दिने निर्णय गरेको बताइएको छ।
सामुदायिक वनको नौ विघा १० कट्टा जग्गामा रु ३० करोडको लागतमा केन्द्र निर्माणका लागि बाटो खुलेको छ। चाँडै ठेक्का प्रक्रियामार्फत निर्माणको काम अगाडी बढ्ने जनाइएको छ।
सामुदायिक वनले केन्द्र निर्माणका लागि जग्गा उपलब्ध गराउने निर्णय गरे पनि डिभिजन वन कार्यालयले नेपाल सरकारबाट जग्गाको भोगाधिकार नआउँदासम्म फोहर व्यवस्थापन केन्द्र निर्माणको कार्य गर्नमा अवरोध गर्दै आएको थियो। जग्गाको भोगाधिकार प्राप्त गर्नाका लागि मन्त्री परिषद्को बैठकको निर्णय मात्र वैधानिक हुने तर नगरपालिकाले यस्तो वैधानिकता प्राप्त नगरेको भन्दै निर्माणका गतिविधि हुन दिइएको थिएन। सो केन्द्र निर्माणका लागि माटो परीक्षण र प्रारम्भीक वातावरणीय परिक्षण तथा वातावरणीय प्रभाव मूल्याङकनको कार्य यस अघि नै गरिएको छ।