कैलाली। टीकापुर नगरपालिका–१ मा निर्माणाधीन मानव मलमूत्र व्यवस्थापन केन्द्रको काम अन्तिम चरणमा पुगेको छ। मलमूत्र व्यवस्थापन केन्द्रको काम ८५ प्रतिशत पूरा भएको हो।
एक वर्षमा सक्नुपर्ने निर्माणको काम कोरोनाका कारण थप ३ महिना लाग्ने भएको र अगामी फागुनसम्म नगरपालिकालाई हस्तान्तरण गर्ने साना शहरी खानेपानी आयोजनाले जनाएको छ। मलमूत्र व्यवस्थापन र ढलको काम सँगसँगै भइरहेको र बाँकी काम दुई महिनाभित्र पूरा गर्ने आयोजनाले जनाएको छ।
यो मलमूत्र व्यवस्थापन केन्द्र सञ्चालनमा आएपछि दैनिक ९ घनमिटर अर्थात ९ हजार लिटर मलमूत्र व्यवस्थापन गर्न सहज हुनेछ । यतिखेर घरको मलमूत्र ट्याङ्की (सक्सन मेशिन) बाट निकालेर खुल्ला ठाउँमा जथाभावी फाल्ने गरिएको छ । विगत चार वर्षदेखि नगरपालिकाको सो मेशिनमार्फत घरमा जम्मा भएको मलमूत्र निकालिए पनि फाल्ने स्थानको समस्या थियो । यसरी जथाभावी फोहर व्यवस्थापन गर्दा वातावरण दुर्गन्धित हुने गरेको छ ।
पछिल्लो जनगणनाअनुसार टीकापुरमा १९ हजार घरधुरी छन् भने ९० हजार जनसंख्या छ । मलमूत्र केन्द्रलाई कार्यविधि बनाएर सञ्चालन गरिने टीकापुर नगरले जनाएको छ।
यतिखेर हप्ताको तीन चार दिनमात्र सक्सन मेशिन प्रयोगमा आउने गरेको छ भने यसको क्षमताअनुसार प्रयोग गर्न अन्य स्थानीय निकायसँग पनि सहकार्य गर्न आवश्यक रहेको बताइएको छ।
भ्याट सहित ६० करोड रुपैँयामा केन्द्र र सतही ढल गरी दुई आयोजना निर्माणाधीन छन् । सतही पानीको निकास गर्न २९ किलोमिटर लामो ढल निर्माण हुने भएको छ । अहिलेसम्म साढे चार किमी ढल निर्माण भएको छ ।