चितवन। कोरियाली सरकारको प्राविधिक तथा आर्थिक सहयोगमा भरतपुर महानगरको फोहोर व्यवस्थापन गरिने भएको छ। कोरियाली सरकारको सहयोगमा पहिलो चरणमा महानगरको फोहोर व्यवस्थापनको गुरुयोजना तयार गरिएको नगरप्रमुख रेनु दाहालले जानकारी दिएकी छन्।
दुई देशबीच सम्झौता गरी १ अर्ब २५ करोड (११.१४ मिलियन अमेरिकी डलर) को लागतमा ल्याण्डफिल्डसाइड निर्माण गर्न लागिएको हो।महानगरको फोहोर व्यवस्थापनका बारेमा विस्तृत अध्ययनपछि प्रतिवेदन तयार गरिएको छ । दुई सरकारबीच ‘जीटुजी’ माध्यमबाट सम्झौता गरी काम अघि बढाउन लागिएको मेयर दाहालले जानकारी दिइन्।
पालिकाले विदेशी सहायता र सहयोग सोझै ल्याउन नपाउने भएकाले मन्त्रालय चरणबाट काम गर्नुपर्दा केही ढिलाइ भएको उनले बताइन्।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले वडा नं ११ को आँपटारीस्थित जलदेवी सामुदायिक वनभित्रको ९.९ हेक्टर जमिनमा आधुनिक ल्याडफिल्डसाइड बन्ने जानकारी दिए।
यस ठाउँमा ल्याण्डफिल्ड साइड बनाउन सोधभर्ना जग्गा महानगरपालिकाले माडी नगरपालिका–१ मा खरिद गरिसकेको छ । यहाँ उपयोग गर्ने जग्गाभन्दा केही बढी जग्गा खरिद गरिएको हो ।
महानगरमा अहिले दैनिक ७० टन फोहोर सङ्कलन हुने गर्दछ । अत्याधुनिक उपकरणको प्रयोग गरी ल्याण्डफिल्डसाइड व्यवस्थित गर्न लागिएको बताइएको छ।