काठमाडौं। चार मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ। वाग्मती सफाइ महाअभियानको शनिबार ४५७औँ हप्तामा बुद्धनगर पुलमुनिको नदी किनारमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको हो।
सफाइका अवसरमा वाग्मती नदी किनारमा बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठलाई सम्मान एवं स्वागत गरिएको थियो। सोही अवसरमा श्रेष्ठ पनी सफाई कार्यक्रममा सहभागी भएका थिए। सफाइमा अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलेलगायत अभियानकर्मीको सक्रियता रहेको किशोरसिंह शाहीले जानकारी दिए।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकु, वाग्मती फोहर उन्मूलन उपभोक्ता समाज, स्थानीयवासी, अधिकारसम्पन्न वाग्मती समितिका कर्मचारीको पनि सफाइमा संस्थागत सक्रियता थियो। सफाइका क्रममा अभियानकर्मीलाई गुर्जोको चिया सेवन गराइएको थियो। यसका लागि गुर्जो अभियानकर्मी राजेशमोहन प्रधान तथा अञ्जु राजलवटले सहयोग गरेका हुन्।
यसैगरी मनोहरा सफाइ अभियानको २५६औँ हप्तामा बालकुमारी पुलमुनिको नदी किनार क्षेत्रमा सफाइ गरिएको छ। विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ अभियान जारी छ। हप्तामा एक दिन शनिबार बिहान दुई घण्टा देशका लागि स्वयंसेवा भन्ने नाराका साथ अभियानकर्मी वाग्मती किनारमा सक्रिय हुने गरेका छन्। वाग्मतीबाट प्रभावित भई उपत्यकामा यसका सहायक नदी पनि सफाइ भइरहेको छ।