झापा। दमक नगरपालिकामा आगामी चैतदेखि फोहोरबाट ग्याँस र प्राङ्गारिक मल उत्पादन सुरु हुने भएको छ। फोहोर व्यवस्थापनको जिम्मा पाएको नेक्स्ट इरा इनर्जी प्रालिले फोहोरबाट एकैसाथ ग्याँस र प्राङ्गारिक मल उत्पादन सुरु गर्न लागेको हो।
फोहोरबाट अब घरका भान्सामा प्रगोग हुने ग्याँसदेखि खेतबारी र गमलामा प्रयोग हुने प्राङ्गारिक मलसमेत उत्पादन हुने भएको छ। कुहिने फोहोर प्रशोधन गरेर ऊर्जा उत्पादन गर्न संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ। फोहोरबाट ऊर्जाअन्तर्गत ग्याँस, प्राङ्गारिक मल र झोल मल उत्पादन गरिने भएको दमक नगरपालिका सरसफाइ शाखाका प्रमुख दोर्ण थापाले बताए। यसका लागि दमक–३ स्थित हंसेदुम्से सामुदायिक वन क्षेत्रभित्र प्रशोधन केन्द्र स्थापना गरिएको छ।
नगरको फोहोर लगेर अजैविक अर्थात् प्लाष्टिकयुक्त र जैविक तथा कुहिने वर्गको फोहोर छुट्याइन्छ। यसरी छुट्याइएको फोहोरमध्ये जैविक फोहोरलाई ठूलो ट्यांकीमा हालेर १५ दिनसम्म कुहिन्छ। यसरी कुहिएको फोहोरबाट मिथेन बायोग्याँस उत्पादन हुने र उत्पादन भएको ग्याँसलाई प्रशोधन गरी ग्याँस पाइप अर्थात् सिलिण्डरमार्फत वितरण गरिने छ। बाँकी कुहिएको फोहोरबाट प्राङ्गारिक मल उत्पादन गरिन्छ भने यहाँ जमेको तरल पदार्थबाट झोल प्राङ्गारिक मल उत्पादन गरिने कम्पनीका प्रबन्धक निर्देशक खतिवडाले बताए।
संरचना निर्माणमा कुल २० करोड ५८ लाख ९७ हजार रूपैयाँ लागत रहेको छ। यसमा लागत सहभागिता १४ करोड ७० लाख रूपैयाँ बढी नेक्स्ट इरा इनर्जी प्रालिररोहन ट्रेर्डस प्रालि जेभीको र बाँकी पाँच करोड आठ लाख रूपैयाँ बढी वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको रहेको जनाइएको छ। जेभीले २०७७ माघ १० गते सम्झौता गरेको थियो।
दमक क्षेत्रमा दैनिकजसो २० टन फोहोर उत्पादन हुने गरेको छ भने १५ टन फोहोर संकलन हुँदै आएको छ। जसमध्ये दमक क्षेत्रमा ६६ दशमलव ५२ प्रतिशत जैविक फोहोर रहने गरेको छ। कागज तथा कागजजन्य ६ दशमलव ५५ प्रतिशत, प्लाष्टिक तथा प्लाष्टिकजन्य पाँच दशमलव ३७ प्रतिशत फोहोर निस्किने गरेको छ।