गुल्मी। गुल्मीको भार्से जिल्लामै सबैभन्दा धेरै मगरहरू रहेको बस्ती हो । यो बस्तीमा उनीहरूले आफ्नो परम्परा, रीतिरिवाज, वेशभूषा, भाषा, संस्कृति र पहिचानलाई सकेसम्म जीवन्त राख्ने प्रयास गरिरहेका छन् । यही क्रममा उनीहरूले आफ्ना कला–संस्कृति प्रवद्र्धन गर्ने गरी गाउँमा पर्यटकसमेत भित्र्याउन थालेका छन् ।
भार्सेको वरिपरि पहाडले घेरेको छ । समतल फाँटको बीचमा रहेको सानो बस्ती साँच्चै सुन्दर छ । अधिकांश ढुंगाका घर, हरियाली अनि स्वच्छ वातावरण । जिल्लाकै सबैभन्दा अग्लो स्थान थाप्लेको काखमा अवस्थित भार्से गाउँ पुग्ने पर्यटक फेरि–फेरि आउने वाचा गर्छन् ।
अग्ला डाँडाका बौद्ध स्तूपा
सत्यवती गाउँपालिका– ८, भार्सेको देउराली डाँडामा डेढ करोडमा बौद्ध स्तूपा निर्माण भइरहेको छ । यो समुद्री सतहदेखि दुई हजार एक सय ८० मिटर उचाइमा छ । स्तूपा निर्माणको नेतृत्व गरिरहेका भार्सेली समाज हङकङका अध्यक्ष कुलबहादुर बुढाथोकीका अनुसार स्तूपा निर्माणमा भार्सेली समाज हङकङसहित, भार्से समाज युके, भार्सेली समाज तराई क्षेत्र, भार्सेली समाज काठमाडौंलगायतका संघ–संस्था र व्यक्तिले सहयोग गरिरहेका छन् ।
स्तूपासँगै पर्यटकलाई आर्कषित गर्न नजिकै फनपार्क पनि छ । पार्क निर्माण अन्तिम चरणमा छ । भार्से देउरालीबाट उत्तरका धौलागिरि, अन्नपूर्ण र माछापुच्छ«ेलगायतका हिमशृंखला र गुल्मीसहित पर्वत, बाग्लुङ, म्याग्दी, पाल्पा र स्याङ्जाका महत्वपूर्ण दृश्यावलोकन गर्न सकिन्छ ।
सोरठी र कृष्णचरित्रको आकर्षण
भार्सेको सोरठी र कृष्णचरित्र लुम्बिनी प्रदेशमै प्रख्यात मानिन्छ । मेला–महोत्सवमा भार्सेलीहरूले सोरठी र कृष्णचरित्रसँगै झ्याउरे, सालैजो र दोहोरी प्रस्तुत गर्छन् । भार्सेमा होमस्टे सञ्चालन भएकाले पाहुनाको चाहनाअनुसार गाउन र नाच्न सक्छन् । कृष्ण जन्माष्टमीमा कृष्णचरित्र गाउने र देखाइने गरिन्छ । यस्ता प्रकारका कला–संस्कृति र परम्परा जिल्लाका अधिकांश ठाउँमा संकट छन्, तर यी गीत र नृत्यहरू भार्सेमा पाको पुस्ताबाट नयाँ पुस्तामा हस्तान्तरण गरेको गायक तथा बाद्यवाधक नारायण विकले बताए । ‘मैले गाउँका पाको पुस्ताको पछि लागेर सोरठी र कृष्णचरित्र सिकेँ । अहिले मैले पनि युवाहरूलाई सिकाइरहेको छु,’ उनले भने, ‘विद्यालय र क्याम्पसमा अध्ययन र अभ्यास आवश्यक छ ।’
विश्वयुद्ध लड्नेहरूको सम्मानमा गोर्खा ग्यालरी
लेफ्टिनेन्ट कुलबहादुर बुढाथोकीले भार्सेमा गोर्खा ग्यालरी स्थापना गरेका छन् । उनले करिब ३५ लाख लगानीमा भवन निर्माण गरेर भार्सेबाट प्रथम र दोस्रो विश्वयुद्ध लड्नेहरूको फोटो समेटेर गोर्खा ग्लायरी स्थापना गरेका हुन् ।
ग्यालरीमा अहिलेसम्म एकजना जीवित र २४ जना दिवंगत व्यक्तिहरूको तस्बिर र संक्षिप्त विवरण राखिएको छ । जसमा नेपालबाट पहिलो भिक्टोरिया क्रस पाउने कर्णबहादुर रानादेखि भारतीय सेनामा नेपालबाट पहिलो कर्णेल श्रीप्रसाद बुढाथोकी र श्रीप्रसादकै बुबा गिरीप्रसाद बुढाथोकीको तस्बिर राखिएको छ । उनीहरू बाबुछोरा एउटै पल्टनबाट विश्वयुद्ध लडेका थिए । विश्वयुद्ध लडेका २५ जनामध्ये ९८ वर्षीय बहादुर आले जीवितै छन् ।
कसरी पुग्ने भार्से ?
रिडी–रुद्रवेणी–वामी टक्सार मुख्य सडकखण्डअन्तर्गत खैरेनीबाट डेढ घन्टाको उकालो हिँडेपछि भार्से पुगिन्छ । भार्सेली मगरहरूको कला–संस्कृतिको संरक्षणसँगै पर्यटकीय सम्भावना देखेर चार वर्षदेखि होमस्टे सञ्चालन गरेको रानीवन होमस्टे सञ्चालक समितिका अध्यक्ष गंगा दर्लामीले बताइन् । यहाँ पुग्ने पर्यटकहरू सालैजो, सोरठी, कृष्ण चरित्र र ठाडो भाकामा गाउन र नाच्न सक्छन् । गीत गाएर र नाचेर पाहुनालाई रात गएको पत्तै हुँदैन । होमस्टेमा खान, बस्न र सुत्नका लागि खासै महँगो छैन । लोकल कुखुरा र कोदोको रक्सी होमस्टेको प्रमुख आकर्षण रहेको दर्लामीले बताइन् । स्वादिष्ट कोदोको ढिँडो, सिस्नो, बाँकको गुन्द्रुक, कालो भट्ट, मकै र फापरको रोटी होमस्टेका विशेषता हुन् । आजको नयाँ पत्रिका दैनिकबाट