काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले एफक्यान रोड रेस—२०८२ को आयोजना गरेको छ ।
१८ औं राष्ट्रिय निर्माण दिवसको अघिल्लो दिन शनिबार महासंघले दौड प्रतियोगिताको आयोजना गरेको हो ।


एफक्यान रोड रेस—२०८२ को पुरुष खुल्ला १० किलोमिटरतर्फ त्रिभुवन आर्मी क्लबका राजन रोकाय प्रथम भएका छन् । आर्मी क्लबकै सञ्जय श्रेष्ठ दोस्रो भए भने सशस्त्र प्रहरीका तयाहाङ्ग राई तेस्रो भएका छन् ।

महिला खुल्ला १० किलोमिटरतर्फ त्रिभुवन आर्मी क्लबकी पूर्णलक्ष्मी न्यौपाने पहिलो, आर्मी क्लबकै निशा सार्की र राज्यलक्ष्मी रावल क्रमशः दोस्रो तथा तेस्रो भएका छन् । पुरुष र महिला दुवै तर्फको खेलमा पहिलो, दोस्रो तथा तेस्रो हुनेले क्रमशः रु २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

कर्पोरेटतर्फ पुरुष ५ किलोमिटरमा रामचन्द्र श्रेष्ठ, राकेश महर्जन र सुशील कुमार श्रेष्ठ क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् । कर्पोरेटतर्फ महिला ५ किलोमिटरमा सोनु घतानी, नगीना महर्जन र रजीना दुलाल क्रमशः पहिलो, दोस्रो र तेस्रो भए ।

यस विधातर्फका विजेता पुरुष र महिला दुवैले क्रमशः रु १० हजार, ६ हजार र ४ हजार जितेका छन् । भेट्रान्सतर्फ पुरुष ५ किलोमिटरमा धर्म महर्जन, अभिनारायण अधिकारी र जापानका मिजुकी मात्सुजाकी क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । भेट्रान्सतर्फ महिला ५ किलोमिटरमा कल्पना महर्जन, शर्मिला बस्नेत र चारु अर्याल क्रमशः पहिलो दोस्रो तेस्रो भइन । यस विधातर्फका विजेता पुरुष र महिला दुवैले क्रमशः रु १० हजार, ६ हजार र ४ हजार जितेका छन् ।
