काठमाडौं। धेरैजसो स्थानीय सरकारको टाउको दुःखाइको मुख्य विषय बन्दै गएको छ, ‘फोहोरमैला व्यवस्थापन।’ स्थानीय सरकारको इच्छा शक्ति नभएर कि उपयुक्त विकल्पको अभाव। उपयुक्त विकल्प र समाधानको स्वरुप नयाँ शैलीमा स्याङजाको वालिङ नगरपालिकाले फोहोरमैला व्यवस्थापन गर्दै आएको छ।
वालिङमा फोहोरमैला समस्या नभएर स्रोतको रूपमा विकसित हुँदै गएको छ। फोहोरमैला व्यवस्थापनले नगर सफामात्र होइन, मोहरमा परिणत भएको छ। वालिङले फोहोरमैलाको व्यवस्थापनसँगै त्यसबाट आयआर्जन पनि गर्न सकिन्छ भन्ने प्रमाण दिएको छ। लामो समयको अध्ययन र अनुसन्धानपछि वालिङले नयाँ सोचका साथ फोहोरमैला व्यवस्थापन गर्दै आएको छ। बजार क्षेत्रबाट संकलित फोहोरमैलालाई वर्गीकरण, वर्गीकृत फोहोरमैला कुहिने र नकुहिने वर्गमा राख्छ। नगरपालिकाले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै दिनमा संकलन गर्छ भने दैनिक पाँच टन फोहोर संकलन हुन्छ।
कुहिने वस्तुलाई नगरले कम्पोस्ट मल बनाएर उपयोग गर्दै आएको छ। कम्पोस्ट मल संकलन केन्द्रबाटै बिक्री हुने गरेको नगरका प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले जानकारी दिए। नकुहिने सामग्री शिशाजन्य, फलाम, प्लास्टिक, कपालजस्ता वस्तुलाई पनि वर्गीकरण गर्दै बजारीकरण गरेको भट्टराईले बताए।
नकुहिने वस्तुहरू उद्योगका कच्चा पदार्थका रुपमा निकासी गरिएको छ। कच्चा पदार्थलाई वालिङ नगरपालिकाले फोहोरलाई मोहरमा परिणत गरेको छ। वर्षेनी लाखौं रुपैयाँ नगरपालिकालाई आम्दानी हँुदै आएको छ। केन्द्रबाट हुने आम्दानीले एक दर्जन कर्मचारीलाई पारिश्रमिक दिएर रोजगारसमेत बनाएको नगरपालिकाले जनाएको छ।
आर्थिक वर्ष २०७७÷०७८ मा फोहोरमैला बिक्रीबाट वालिङ्ले २५ लाख रुपैयाँ आम्दानी गरेको थियो। देशभरका नगरपालिकामध्ये वालिङ यसअघि नै सर्वोत्कृष्ट भएर पुरस्कृत पनि भइसकेको छ। संघीय तथा स्थानीय विकास मन्त्रालयले २०७४ सालमा सर्वोत्कृष्ट सफानगरका रूपमा वालिङलाई पुरस्कृत गरेको थियो। नगरपालिकाको ‘सरसफाई केन्द्र’ अन्यका निम्ति सिकाइ केन्द्रका रूपमा रूपान्तरण भएको नगरका सूचना अधिकारी बाबुराम सापकोटाले बताए।
वालिङ नगरपालिका–१ अर्मादी रामबाच्छको तल्लो भागमा नगरपालिकाको सरसफाइ केन्द्र छ। केन्द्र आँधीखोला किनारको बगरमा छ। नगरपालिकाले पूर्णामृत भवानी माध्यमिक विद्यालयको ३२ रोपनी जग्गा २० वर्षका लागि भाडामा लिएर केन्द्र निर्माण गरेको हो। केन्द्रमा दैनिक चारजना कुचिकार र अन्य पाँचजना कर्मचारीले फोहोर वर्गीकरण गर्दै आएका छन्।
नगरले आधुनिक मेसिनबाट फोहोरमैला वर्गीकरण गर्ने गरी तयारी थालेको छ। फोहोरमैला व्यवस्थापनमा नगरपालिका र विभिन्न दातृ निकायले सहयोग गर्दै आएका छन्। सरसफाइका लागि आवश्यक भौतिक संरचना पनि बनाइएको छ। केन्द्रमा एकातिर कुहिने वस्तु र कम्पोस्ट मल राखिन्छ भने अर्कातर्फ फलाम, सिसा, प्लास्टिकलगायतका नकुहिने वस्तु छुट्याएर राखिने गरेको सापकोटाले जानकारी दिए।
केन्द्र वरिपरि फलफूल अरू रूख बिरुवा रोपण गरिएको छ । केन्द्र आसपास प्राकृतिक वातावरण पनि सुन्दर देखिन्छ। एकद्वार प्रणालीबाट फोहोरमैला व्यवस्थापन गरिँदै आएको छ। एकीकृत फोहोरमैला व्यवस्थापनका क्षेत्रमा नगरपालिका तहमा सञ्चालनमा आएको यो प्लान्ट नेपालकै पहिलो भएको नगरपालिकाले दाबी गरेको छ।
केन्द्रबाट निस्कने पानीलाई सिँचाइमा पनि प्रयोग गर्न सकिन्छ। वालिङ नगरपालिकाले २०७१ सालदेखि स्थानीय एक गैरसरकारी संस्था (दिदी–बहिनी एवं समाज उत्थान) लाई चार वर्षसम्म फोहोरमैला व्यवस्थापनको जिम्मा लगाएको थियो । विगत पाँच वर्षदेखि भने नगरपालिकाले आफैंले फोहोर व्यवस्थापनको काम गर्दैै आएको छ । नगरपालिका सरसफाइ शाखा प्रमुख ज्योति पौडेल नगरपालिकाले फोहोर उठाएर मात्र नहुने भन्दै वर्गीकरण गर्ने काम महत्वपूर्ण हुने बताउँछन्।
नगरपालिकाले सेफ्टी ट्यांकीलगायत फोहोरजन्य पानीको व्यवस्थापनसमेत गर्दै आएको छ। घरघरमा रहेका सेफ्टी ट्यांकी भरिएपछि ट्यांकर खोज्नु निकै कठिन हुने स्थानीयले सुनाए। त्यहाँबाट उत्पन्न हुने फोहोर जहाँ पायो त्यतै फाल्न पनि नहुने फोहोरलाई वातावरणीय दृष्टिकोणले पनि असहज हुने भएपछि नगरपालिका आफैंले सेफ्टी ट्यांकी सरसफाइको काम गर्न थालेको नगरपालिकाले जनाएको छ।
नगरपालिकालाई ६ हजार ५ सय रुपैयाँ बुझाएपछि आफै सेफ्टी ट्यांकी सफा गरिदिन्छ। त्यसका लागि नगरपालिकाले दिसाजन्य लेदो व्यवस्थापन प्लान्ट पनि सञ्चालनमा ल्याएको छ। दिसाजन्य लेदोबाट बायोग्यास र कम्पोस्ट मल बन्छ भने त्यहाँबाट निस्कने पानीलाई प्रशोधन गरी पुनः प्रयोग गर्न मिल्ने बनाएको नगरपालिकाले जनाएको छ।
नगरवासीहरू फोहोरमैला ब्यवस्थापनमा भएको यो ‘चमत्कार’ को श्रेय निवर्तमान नगरप्रमुख दिलिप्रताप खाँणलाई दिन्छन्। विज्ञान विषयका विद्यार्थी खाँण आफै रचनात्मक, सिर्जनात्मक र अन्वेषणात्मक कार्य गर्न रुची राख्छन्। खाँणले आफ्नो कार्यकालमा ‘पहिला फोहोरमैला चिनौं, त्यसपछि व्यवस्थापन गरौं, भन्ने नारा नै दिएका थिए।
वालिङ पुरस्कृत भएपछि ‘सिक्नका लागि विभिन्न पालिका र संघ–संस्था’ गरी पाँच सय बढीले स्थलगत अध्ययन गरिसकेको नगरपालिकाले जनाएको छ। वालिङको सफाइ केन्द्र हेरेर गएका पालिकाले फोहोरमैला व्यवस्थापनमा राम्रा काम गरेको नगरपालिकाका अधिकृत पाण्डेले सुनाए। पालिकाले फोहोरमैलाको परिमाण र प्रकृतिअनुरूप प्रतिघर ५० देखि पाँच सय रुपैयाँसम्म मासिक शुल्क लिँदै आएको छ।
आर्थिक वर्ष २०७१/०७२ मा १ लाख ७९ हजार, २०७२/०७३ मा तीन लाख ४९ हजार ९ सय ९०, आव २०७३/०७४ मा सात लाख २४ हजार ८ सय १५ र पछिल्लो वर्ष चारलाख ८१ हजार ४ सय १३ रुपैयाँ फोहोरमैला बिक्रीबाट आम्दानी गरेको दिदी–बहिनी एवं समाज उत्थान गैरसरकारी संस्थाका अध्यक्ष यामप्रसाद भण्डारीले जानकारी दिए। कारोबारबाट