बाँके । नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको नेपालगन्ज वाटरपार्कमा स्थानीय युवाहरूले वृहत् सरसफाइ अभियान सञ्चालन गरेका छन् । लामो समयदेखि उचित सरसफाइको अभावमा रहेको उक्त क्षेत्रमा गरिएको अभियानका क्रममा एक सय चार किलो फोहोर संकलन गरिएको हो ।
बास नेपालको आयोजनामा सम्पन्न उक्त सरसफाइ कार्यक्रम द कोकाकोला फाउण्डेशनको आर्थिक सहयोग तथा स्वच्छ सफा नेपाल (क्लिन अप नेपाल)द्वारा सञ्चालित ‘हरित नेपालगञ्ज सामुदायिक फोहोर रूपान्तरण आयोजना’ अन्तर्गत शनिबार सम्पन्न गरिएको हो ।
बास नेपालका तालिमप्राप्त २० जना स्वयंसेवक, कार्यसमिति सदस्य तथा नेपालगन्ज उपमहानगरपालिका वडा नं १का सरसफाइकर्मीहरूको संयुक्त सहभागितामा सञ्चालन गरिएको कार्यक्रममा वाटरपार्कको आधा क्षेत्र सरसफाइ गरिएको थियो । अत्यधिक फोहोरका कारण एकैपटक सम्पूर्ण क्षेत्र सफा गर्न कठिन भएको जनाउँदै बाँकी भाग अर्को दिन सरसफाइ गरिने परियोजना संयोजक मन भण्डारीले जानकारी दिए ।
संकलित फोहोरमध्ये ४५ किलो प्लास्टिक, २५ दशमलव ३५ किलो काँच, ६ दशमलव ४७ किलो प्लास्टिकका बोतल तथा २८ दशमलव १६ किलो विविध मिश्रित फोहोर रहेका छन् । संकलन गरिएका फोहोरलाई स्रोतमा नै वर्गीकरण गरी पुनःप्रयोग गर्न सकिने र नसकिने फोहोर छुट्टाछुट्टै व्यवस्थापन गरिएको छ ।
संकलित फोहोर वडाको समन्वयमा सुरक्षित व्यवस्थापनका लागि फोहोर विसर्जन स्थलमा लगिएको छ । कार्यक्रममा बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले फोहोरको सही वर्गीकरण तथा व्यवस्थापनका उपायबारे जानकारी दिनुभएको थियो। परियोजना संयोजक मन भण्डारीले सहभागीहरूलाई स्वागत गर्दै फोहोर व्यवस्थापनलाई दिगो र निरन्तर अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए ।
पर्यटकीय सम्भावना बोकेको नेपालगन्ज वाटरपार्कलाई स्वच्छ, आकर्षक र व्यवस्थित राख्न समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको सहभागीहरूले बताएका छन् ।