बुटवल। बुटवलको गोलपार्क–चौराह सडक विस्तारको काम बेलैमा नगरी अलपत्र छाड्ने निर्माण कम्पनी द कञ्चनजंघा–विरुवा जेभीको म्याद थपका लागि भित्रभित्रै भइरहेका प्रयास सतहमै देखिन थालेका छन्। बाहिर निर्माण कम्पनीलाई गाली गर्ने तर भित्रभित्रै त्यही ‘कामचोर’ कम्पनीको म्याद थपको लविङमा लागेका बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले निर्माण कम्पनीलाई सहज हुने माहौल बनाइरहेका छन्।
निर्माण कम्पनीलाई सहज बनाउनकै लागि बुटवल उपमहानगरपालिकामा साउन २३ गते एउटा कार्यक्रम आयोजना भयो। यो कार्यक्रम आयोजना गर्नुको उद्देश्य थियो, निर्माण कम्पनीका प्रतिनिधिलाई काम हुन नसक्नुको प्रष्टिकरणका लागि मौका दिनु। झट्ट हेर्दा सडक निर्माणको लागि चासो देखाइएको देखिएपनि जब कार्यक्रम सकियो, टिप्पणी चल्यो,–ठेकेदार कम्पनीलाई सफाई पेश गर्ने मौका जुराइएको रहेछ। कार्यक्रममा थिए, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, सडक विस्तार आयोजनाका प्रमुख दिपक झा सहितका इञ्जिनियरहरु,प्रमुख जिल्ला अधिकारी भरतराज पाण्डे, खानेपानी संस्थान बुटवलका प्रमुख, विद्युत प्राधिकरण बुटवलका प्रमुख लगायत सरकारी अधिकारीहरु र केही पत्रकार। सडक विस्तारका लागि समन्वयको पहल भएजस्तो देखिएपनि सारमा निर्माण कम्पनीलाई सफाईको मौका दिनका लागि आयोजना गरिएको थियो।
पटक–पटक म्याद थप्दा समेत काम नगरेको निर्माण कम्पनीका प्रतिनिधिको कुरा सुनेपछि उपस्थित सरकारी अधिकारीहरु मुखामुख गरे। यहाँ निर्माण कम्पनीका प्रतिनिधि सुमित श्रेष्ठले सडक विस्तारमा ढिलाई हुनुको गल्ती स्विकार गर्नुको साटो अनेक समस्या देखाएर सरकारी निकायको कमजोरीको फेहरिस्त पेश गरे। उनले विद्युत प्राधिकरण,खानेपानी संस्थान लगायत सरकारी कार्यालयको असहयोगले बेलैमा काम गर्न नसकेको फेहरिस्त पेश गरे। जबकि सडकको रेखाङ्कन प्रष्ट भइसकेको ठाउँमा समेत निर्माण कम्पनीले काम नगरेको बारे न त कसैले प्रश्न ग¥यो, न त उनले कुनै कुरा उठाए। ‘निर्माण कम्पनीले काम गर्न खोजेको रहेछ, सरकारी निकायको कमजोरीले काम गर्न सकेको रहेन्छ भन्ने योजनाबद्ध ढंगले वातावरण बनाइयो,–कार्यक्रममा सहभागी एक इञ्जिनियरले भने,–जबकि पटक–पटक ताकेता गर्दाको हैरानीको फेहरिस्त लामो छ।
बुटवल उपमहानगरपालिका मेयर पाण्डेको अगुवाईमा निर्माण कम्पनीलाई समेत डाकेर अब काम गर्ने प्रतिबद्धता गराउनुको कारण हो, केही दिनभित्रै उसको म्याद थप्ने वातावरण बनाउनु। सडक विस्तार आयोजनामा म्याद थपको लागि निवेदन दिएको निर्माण कम्पनी सम्पर्कमा नआएपछि आयोजनाले सार्वजनिक सूचना जारी गरेको छ। सूचना जारी गरेपछि सम्पर्कमा आएका निर्माण कम्पनीका प्रतिनिधिप्रति आयोजना कार्यालयका अधिकारी समयमै काम हुन्छ भनेर विश्वस्त हुन सकिरहेका छैनन्। ‘उसको काम हेर्नुपर्छ, तत्काल म्याद थपिदैन्, केही समय लाग्छ– सडक विस्तार आयोजनाका प्रमुख दिपक झाले भने।
सार्वजनिक सूचना जारी गरेर सम्पर्कमा आएका निर्माण कम्पनीका प्रतिनिधिलाई राखेर सफाईको मौका दिदै काम गर्ने प्रतिबद्धता जनाउनुको कारण प्रष्ट छ, सेटिङमै म्याद थपिदैछ। आयोजना कार्यालयले अब किन कारवाही नगर्ने भन्ने प्रश्न गर्दै सूचना जारी गरेपछि प्रष्टिकरण चित्त नबुझे कारवाहीको प्रक्रियामा गएर नयाँ ठेक्कातिर लाग्नुपर्नेमा बुटवलका मेयर पाण्डेको सक्रियताको अर्थ सार्वजनिक हुँदैछ।
बुटवल चौराह–गोलपार्क सडक विस्तारको म्याद गएको असार मसान्तमा सकिएपछि ठेकेदार कम्पनी द कञ्जनजंघा–विरुवा जेभीका प्रतिनिधिले साउन ८ गते बुटवल–बेलहिया व्यापारिक मार्ग आयोजना कार्यालयमा म्याद थप गरिपाउँ भन्दै निवेदन दिए।
द कञ्चनजंघा–विरुवा जेभी बुटवल–बेलहिया व्यापारिक मार्ग आयोजनाको दुई ठाउँमा म्याद सकिएको लामो समयसम्म काम नगरेको र बुटवलको चौराह–गोलपार्क खण्डमा म्याद थप्दा समेत अनेक बहाना गरेर काम नगरेको निर्माण कम्पनी हो। म्याद थपको निवेदन दिएपछि ठेकेदार कम्पनीका प्रतिनिधि सम्पर्कमा नआएपछि आयोजना कार्यालयले साउन १३ गते सडक निर्माणमा भइरहेको ढिलाई बारे चित्त बुझ्दो जवाफसहित सातदिनभित्र हाजिर हुन सूचना जारी ग¥यो। काठमाडौंको एक दैनिक पत्रिकामा सूचना निस्केपछि बल्ल ठेकेदार कम्पनीका प्रतिनिधि काम गर्ने प्रतिबद्धता गर्दै साउन १८ गते हाजिर भए।यो कम्पनीले काम नगर्दा बुटवलको सडक अस्तव्यस्त भएको भन्दै कालोसूचीमा राखेर कारवाही गर्न जनस्तरबाट दवाव छ।
गएको असार मसान्तसम्म सक्ने प्रतिवद्धता जनाएको निर्माण कम्पनीको म्याद अघिल्लो वर्ष पनि थपिएको थियो। उसले प्रतिवद्धता अनुसार गएको मंसिरदेखि सडक निर्माणको काम अघि बढायो। अनेक उल्झन र अवरोधले समयमै काम हुन नसकेको सडक विस्तारको कामले गति लिएपछि थपिएको समयसीमा सडक विस्तार हुन्छ भन्ने बुटवलवासीमा आशा पलाएपनि अहिले सडकमा देखिएको बेहाल अवस्थाले निर्माण कम्पनी बेइमान रहेको निष्कर्षमा बुटवलवासी पुगेका छन्।
जब निर्माण कम्पनीले काम गर्न सक्रियता बढायो, नजिकै आइरहेको स्थानीय तहको चुनावमा मुद्दा बनाउन निर्माण कम्पनीलाई सत्तारूढ दलकै नेताहरुले काममा ढिलाई गर्न आग्रह गरे। निर्माण कम्पनीका एक इञ्जिनियरका अनुसार, चुनाव अघि काममा ढिलाई गर्दा थपिएको म्यादसम्म काम नसकिएपनि पुनः म्याद थप्न सघाउने प्रतिबद्धता जनाए। सत्तारूढ नेताहरुको चुनावी स्वार्थलाई साथ दिदै निर्माण कम्पनीले स्थानीय तहको चुनाव अघि काममा ढिलासुस्ती गर्दै सम्पर्क विच्छेद भयो। चुनावपछि काम तीब्र गतिमा अघि बढाएको छनक त दियो तर काम सक्ने संभावना थिएन्। अहिले पहिले दिएको प्रतिबद्धता अनुसार निर्माण कम्पनीलाई म्याद थप्ने वातावरण मेयर पाण्डेले गरिरहेका छन्, जुन गएको २३ गतेको कार्यक्रमले छर्लङ्ग पारेको छ।
भित्रभित्रै म्याद थपको लविङमा लागेका मेयर पाण्डे बाहिर सडक निर्माणमा कम्पनीले ढिलासुस्ती गरेको भन्दै सूचना प्रवाह गराएका थिए। सार्वजनिक रुपमा सुचना निकालेर सम्पर्कमा आएका निर्माण कम्पनीका प्रतिनिधिलाई राखेर सफाईको मौकाको प्रपञ्च गराउनुको कारण निर्माण कम्पनी द कञ्जनजंगा विरूवा जेभी कम्पनीका सञ्चालक सत्तारुढ कांग्रेस निकट निर्माण व्यवसायी हुन्। विरुवाका सुमित श्रेष्ठ कांग्रेसका प्रभावशाली नेतासंग पहुँच बनाएका व्यवसायी हुन्। उनी स्वंय कांग्रेसको बाग्मती प्रदेशको राजनीतिमा क्रियाशील रहेका छन्।
बुटवल उपमहानगर र संघीय सरकारमा कांग्रेसको सत्ता भएका प्रभावशाली नेताहरुसँग पहुँच बनाउन सफल निर्माण कम्पनीको म्याद थप निश्चित साउन २३ गते सोमवारको कार्यक्रमले गरेको सडक विभागका अधिकारीहरु बताउँछन्। म्याद थपको बाटो खोल्न सार्वजनिक खरिद ऐनको नियमावलीको १२ औं संशोधन भइसकेको छ। बुटवल चौराह–गोलपार्क सडक निर्माण समयमै नगरेर अस्तव्यस्त बनाएको विरुवाले यस अघि बुटवल–बेलहिया सडक निर्माणको काम अलपत्र छाडेको बुटवल–बेलहिया व्यापारिक मार्ग आयोजनाका प्रमुख दिपककुमार झाले जानकारी दिए।
विरुवाले बेलहिया नाकामा ७ सय ५० मीटर सडकमा अस्पाल पीच गर्ने काम बाँकी राखेको छ। पडसरीमा पनि केही वर्षदेखि बाँकी रहेको काम अलपत्र छ। २०७८ असार १८ गते प्रमुख जिल्ला अधिकारीको संयोजनमा सरोकारवाला सरकारी निकाय र निर्माण कम्पनीबीच भएको बैठकमा १० दिनभित्र बेलहिया र पडसरीको बाँकी काम सक्ने निर्माण कम्पनीका प्रतिनिधिले लिखित प्रतिवद्धता जनाएका भएपनि त्यो प्रतिबद्धता कार्यान्वयन भएन्। चौराह–गोलपार्क सडकको काम पनि २०७९ असार मसान्तसम्म सक्ने गरी दु्रत गतिमा गर्ने सहमति भएको थियो । त्यो सहमति पनि कार्यान्वयन भएन्।
श्रेष्ठकै नाममा रहेको बिरूवा कन्स्ट्रक्सन प्रालिले १७ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको बेलहियादेखि बाइपाससम्मको ७ सय ५० मिटर सडकको निर्माण पनि अलपत्र छ। यही सडकको लखनचोकदेखि अञ्चलपुरसम्मको २ किलोमिटर सडक पनि सुमित श्रेष्ठकै बिरूवा श्रेष्ठ एपेक्स जेभीले निर्माणको जिम्मा लिएको थियो। २०७२ साल माघ महिनामा ४१ करोडको ठेक्का सम्झौता गरी निर्माण अगाडि बढाइएको थियो । ३० महिनामा निर्माण पूरा गर्नुपर्ने सम्झौता गरिए पनि सो खण्डको सर्भिस लेन अझै पनि अधुरै छ। सम्झौता गर्दा ३० महिनामा निर्माण पूरा गर्नुपर्ने भनिए पनि निर्माण कम्पनीले विभिन्न बहानामा काम गरिरहेको छैन्।
बेलहियादेखि बुटवल गोलपार्कसम्मको अरू खण्डको निर्माण कार्य सम्पन्न भए पनि सुमित श्रेष्ठकै जिम्मामा रहेका तीन वटा खण्ड अधुरै छन् । नियत ठीक नभएको निर्माण कम्पनीलाई कानुन अनुसार कारवाही गरी अरुलाई पनि सर्तक बनाउनुपर्नेमा उसैलाई संरक्षण गर्ने काम भएपछि आगामी दिनमा विकास निर्माणका काममा निर्माण कम्पनीको रजाईं चल्ने संकेत देखिएको छ। गोलपार्क–चौराह सडक चुनावी प्रचारमा प्रपोेगण्डा बनाइयो। कांग्रेसका मेयरका प्रत्यासी पाण्डेले चुनाव जितेपछि निर्माण हुने आशा गरेका नगरवासी अहिले बेहाल सडक देखेर आक्रोशित हुन थालेका छन्।
त्यसो त सडक विस्तारका क्रममा सडक क्षेत्राधिकार मिचेर बनाइएका घरहरु भत्काउन तिनै पाण्डेले अवरोधको नेतृत्व गरेको आरोप छ। सडक क्षेत्राधिकार मिचेर बनाइएका घरधनीलाई बोकेर काठमाडौंसम्म पुगेको र अदालतमा मुद्दा हाल्न उक्साएको आरोप उनीप्रति लागेको छ। उनले सार्वजनिक रुपमै सडक कार्यालयले समय नदिइ घर भत्काएको भन्दै विरोध गरेका थिए। मेयर निर्वाचित भएपछि असार मसान्तसम्म जसरी पनि काम सक्ने वाचा गरे।
चौराह–गोलपार्क सडक साढे तीन किमि दुरी हो। यो सडक विस्तारका लागि निर्माण कम्पनीले २०७३ चैत १७ गते ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार, २०७६ असोज १२ गतेसम्म काम सक्नुपर्ने समयसीमा भएपनि सडक क्षेत्राधिकार मिचेर घर बनाएकाहरुको अवरोधले काम अघि बढ्न सकेन्। घरधनीहरुले सडक विस्तार रोक्न माग गर्दै अदालतमा मुद्दा दायर गरेका थिए। रोकिएको सडक विस्तारको काम अघि बढाउन अदालतको फैसला आएपछि काम अघि बढ्यो। २०७६ असोजको समयसीमा सकिएपछि २०७९ असारसम्म म्याद थपिएको थियो। पहिले स्थानीय बासिन्दाले सडक विस्तारमा अवरोध गरे । पछि निर्माण कम्पनीले काम गर्न आलटाल ग¥यो। यो सडक ५३ करोड ९७ लाख रुपैयाँमा ठेक्का लागेको हो। ठेकेदार कम्पनीले हालसम्म १३ करोडभन्दा बढी रकम भुक्तानी लगिसकेको छ। लुम्बिनी दैनिकबाट