काठमाडौं । हेटौंडा सिमेन्ट उद्योगलाई निजकरण गर्न खोजिएको भन्दै विरोध प्रदर्शन गरिएको छ । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति मकवानपुरले बिहीबार सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगलाई निजकरण गर्ने सरकारी प्रयासको विरोधमा हेटौंडा बजारमा प्रदर्शन गरेको हो ।
माओवादी केन्द्रले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र पनि बुझाएको छ । माओवादी केद्रीय सदस्य तथा मकवानपुर इञ्चार्ज विजय गौतमले प्रजिअ स्किम श्रेष्ठलाई ध्यानाकर्षण बुझाउँदै निजीकरणको सरकारी प्रयत्न रोकिनुपर्ने बताए ।
गौतमले भने, ‘मन्त्रिपरिषद्को २०८२ वैशाख १५ गतेको बैठकले हेटौंडा सिमेन्टलगायत केही सरकारी उद्योगहरू निजीकरण गर्ने निर्णय गरेकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यसले वर्तमान सरकार, जनता र राष्ट्रको हितमा भन्दा पनि मुट्ठी भरका बिचौलियाको हितमा सक्रिय छ भन्ने अर्को पुष्ट्याई गर्न खोजेको छ ।’
हेटौंडा सिमेन्ट उद्योगमा संरचनागत, प्रविधिगत र प्रशासनिक रूपमा आवश्यक सुधारसहित नियमित र व्यवस्थित सञ्चालनको प्रबन्ध गर्न ज्ञापनपत्रमा माग गरिएको छ ।