रौतहट। नदीले धार परिवर्तन गरेपछि अलपत्र परेको दुर्गा भगवती गाउँपालिका–५ स्थित रौतहट–सर्लाही सीमा क्षेत्रमा पर्ने वाग्मती पुल निर्माण १२ वर्षपछि बल्ल थालिएको छ। हुलाकी राजमार्ग निर्देशनालयले दोस्रो पटक पुलको ठेक्का लगाएपछि निर्माण कम्पनीले काम सुरु गरेको हो।
निर्देशनालयका निर्देशक धर्मेन्द्र झाले पुरानो ठेक्का रद्द गरेर नयाँ ठेक्कामार्फत काम सुरु गरेको बताए । उनका अनुसार अहिले वाग्मती नदीको पूर्वक्षेत्रमा माटोको काम भइरहेको छ। ‘पुलको भार थेग्न सक्नेरनसक्ने भन्ने डिजाइनका लागि कन्सल्टेन्टलाई जिम्मा दिएका छौं । ढिला भए पनि अब काम रोकिँदैन,’ उनले भने। २२४१ मिटर लम्बाइ नदी नियन्त्रणको कामसहित पुल निर्माणका लागि महालक्ष्मी, विकास, वाईपी जेभीले ५७ करोड ४० लाख रुपैयाँमा ठेक्का सकारेको निर्देशनालयले जनायो । ठेकेदारले २०८१ कात्तिक १० मा काम सम्पन्न गर्ने गरी २०७९ वैशाख ११ मा सम्झौता गरेको हो। पुलको चौडाइ ६ मिटरबाट बढाई ७ बनाउने तयारीमा निर्देशनालयले कन्सल्टेन्टलाई भार थेग्न सक्नेरनसक्ने भन्ने यकिन गर्न जिम्मा दिएको छ।
मधेसका सदरमुकामलाई जोड्ने महत्त्वाकांक्षी परियोजनाअन्तर्गत पुल बनाउन थालिएको थियो । निर्माणकै क्रममा पुलभन्दा ८ सय मिटर पूर्वबाट खोला बग्न थालेपछि काम रोकिएको निर्देशनालयले जनाएको छ। लामो समयसम्म निर्माण कम्पनी र निर्देशनालयबीच काम थाल्न छलफल भए पनि सहमति भएन। निर्माण कम्पनी लुम्बिनी बिल्डर्सका ठेकेदार लंक केसीले पुल निर्माण गर्ने समय सकिएको र लामो समयसम्म निर्देशनालयले साइट उपलब्ध गराउन नसकेकाले एकतर्फी ठेक्का तोडेको जानकारी गराए । तत्कालको अवस्थाभन्दा निर्माण सामानको भाउ अकासिएकाले पुरानै दरमा काम गर्न नसक्ने उनको भनाइ थियो ।
ठेकेदारले उच्च अदालत पाटनमा रिट निवेदन दायर गरेपछि अदालतले निर्माण कम्पनीले काम गरेको भुक्तानी दिन आदेश दिएको थियो। ठेकेदार कम्पनीले लुम्बिनीले त्यतिबेला ३५ करोड ८९ लाख रुपैयाँमा ठेक्का सकारेको थियो। लुम्बिनीले ठेक्का सकारे पनि पप्पु कन्स्ट्रक्सनले निर्माण थालेको थियो। ठेक्का सकार गर्ने बेला पप्पुको कम्पनी कालोसूचीमा परेको थियो। लुम्बिनी बिल्डर्सले २०६७ जेठ ३१ मा सम्झौता गर्दै २०७० जेठ ३० काम सक्ने जनाएको थियो । सम्झौतापछि तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले पुलको शिलान्यास गरेका थिए । पुलको लम्बाइ ६३४ मिटर र चौडाइ डबल लेन्थको छ। पुलमा १७ स्पानसहितको सम्झौता भएको थियो। लुम्बिनीले १७ वटै स्पानको काम सकेको थियो।
रौतहटका बतसपुर, बडहर्वा, राजदेवीलगायत स्थानका स्थानीय डुंगा चढेर पारी खेतमा काम गर्न जान्छन्। वाग्मती नदीले कटानमा पारेपछि केहीको खेत पारि सर्लाहीतिर परेको छ। बर्खामा जोखिम मोलेर डुंगामा वारपार गर्दै आएको स्थानीय रामेश्वर साहले बताए। ‘समयमा पुल बनेको भए दुवै जिल्लाका स्थानीयलाई वारपार गर्न सहज हुन्थ्यो,’ उनले भने, ‘अहिले डुंगा चढेर आउजाउ गर्नुपर्छ।’ कान्तिपुरबाट