काठमाडौं । फोहोर व्यवस्थापन नगरेको भन्दै जनप्रतिनिधिहरुले नगर प्रमुख लालकिशोर साहको घर अगाडि फोहोर थुपारेका छन् । दिपावली नजिक आइसक्दा पनि जनकपुरधाम उपमहानगरपालिकाले फोहोर व्यवस्थापन नगरेपछि वडाध्यक्षहरुले नगर प्रमुख लालकिशोर साहको घर अगाडि फोहोर थुपारेर विरोध गरेका हुन् ।
यस क्षेत्रमा फोहोर व्यवस्थापनका लागि डम्पिङ साइटको अभाव हुँदा जनकपुरधाम उपमहानगरभित्रको फोहोर उठ्न सकेको छैन । उपमहानगर भित्रका विभिन्न वडामा थुपारिएको फोहोरहरु व्यवस्थापनमा असहयोग गरेको भन्दै जनकपुरधाम उपमहानगरपालिका–१ का वडाध्यक्ष शत्रुधन साह, ४ का वडाध्यक्ष सुदर्शन सिंह र ७ का वडाध्यक्ष जानकीराम साहको नेतृत्वमा युवाहरुको टोलीले नगर प्रमुखको घर अगाडि फोहोर थुपारेको हो ।
प्रहरीले नगर प्रमुख लालकिशोर साहको घर अगाडि फोहोर फाल्न नदिएपछि उनीहरुले जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय अगाडिको बाटो जाम गरेर फोहोरका गाडीसहित धर्ना समेत बसेका छन् ।
फोहोर व्यवस्थापनका लागि नगर प्रमुख लालकिशोर साहले चासो नदेखाएको, फोहोर व्यवस्थापनका लागि उपमहानगरले ट्रयाक्टरसम्म उपलब्ध नगराएको उनीहरुको आरोप छ । जनताको समस्याप्रति उपमहानगरले वास्ता नराखी भ्रष्टाचारमा केन्द्रित भएको आरोप लगाउँदै वडाअध्यक्षहरु सडकमै धर्ना बसेका हुन् ।