काभ्रेपलाञ्चोक। बेथानचोक सुरुङमार्गको अध्ययन काठमाडौं विश्वविद्यालयले गर्ने भएको छ।
बेथानचोक गाउँपालिका हुँदै ललितपुर तथा प्रदेश राजधानी हेटौंडालाई जोड्ने वैकल्पिक राजमार्गको रूपमा प्रस्ताव गरिएको सडक अन्त्रगतको ढुङ्खर्क खोला च्याम्राङबेशी सडक खण्डमा सुरुङ मार्ग निर्माणको लागि केयुले अध्ययन गर्ने भएको हो।
सुरुङ मार्गको अध्ययनका लागि काठमाडौं विश्वविद्यालय र बेथानचोक गाउँपालिकाबीच बुधबार सम्झौता भएको छ।
विश्वविद्यालयका इन्जिनियरिङ विभागका डिन प्रा.डा. मनिष पोखरेल र गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीबीच भएको सम्झौतामा केयूलाई सुरुङ मार्गको अध्ययन गर्नका लागि गाउँपालिकाले १० लाख उपलब्ध गराउने सहमति भएको छ।
केयूले अध्ययन गर्ने सुरुङ मार्ग एक देखि डेढ किलोमिटर दुरीको हुने छ। विश्वविद्यालयले सुरुङ मार्गको अध्ययन गरेर गाउँपालिकालाई प्रतिवेदन बुझाएपछि सुरुङ मार्ग निर्माणको लागि प्रदेश सरकार, सङ्घीय सरकारका साथै अन्य सहयोगी सङ्घसंस्थालाई आह्वान गरिने बताइएको छ । विश्वविद्यालयले अध्ययन गर्ने सुरुङ मार्गले ढुङ्खर्क खोला च्याम्राङबेशी सडक अन्तर्गत गाउँपालिकाको वडा नम्बर–२, र १ लाई सुरुङ मार्गबाट जोड्नका मद्दत गर्नेछ ।