पोखरा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कास्कीस्थित रूपाताल संरक्षण तथा एकीकृत विकास आयोजनाको स्थलगत अनुगमन गरेका छन्।
अनुगमनका क्रममा आयोजना व्यवस्थापनले हालसम्म ६५ प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको र आर्थिक वर्ष २०८५/८६ भित्र काम सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी गराएको छ।
कुल ४ अर्ब ५२ करोड रुपैयाँ लागतको आयोजनामा देखिएको रुख कटानसम्बन्धी समस्या समाधान गरी कामलाई गति दिन मन्त्रालयले सहजीकरण गर्ने मन्त्री श्रेष्ठले प्रतिबद्धता जनाए। उनले रूपाताललाई वातावरण संरक्षण, जैविक विविधताको जगेर्ना र पर्यापर्यटनको नमुना गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।
यसैबीच मन्त्री श्रेष्ठले फेवातालसहित गण्डकीका ताल संरक्षण, जलस्रोत उपयोग र ऊर्जा विकासमा सङ्घ–प्रदेश सहकार्यबारे छलफल गर्नुका साथै लेखनाथ सबस्टेसनको पनि अनुगमन गरेका छन्।