काठमाडौं । दार्चुलाको अपिहिमाल गाउँपालिका लामो प्रतीक्षापछि सडक सञ्जालसँग जोडिएको छ। गाउँपालिकाको केन्द्रसम्म पहिलोपटक सवारीसाधन पुगेको हो।
मकरीगाड–खण्डेश्वरी सडक स्तरोन्नति कार्यक्रमअन्तर्गत करिब ६.५ किलोमिटर नयाँ सडकको ट्र्याक खोलिएपछि गाउँपालिका केन्द्रसम्म गाडी पुग्न सम्भव भएको हो।
मकरीगाडदेखि डिमौरासम्मको सडक ट्र्याक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत बैतडी डिभिजनले निर्माण गरेको हो भने बाँकी १.५ किलोमिटर ट्र्याक गाउँपालिकाले निर्माण गरेको हो।
सडक पहुँचबाट वञ्चित स्थानीय तहका केन्द्रलाई सडक सञ्जालमा जोड्न संघीय मन्त्रालयले आवश्यक बजेट व्यवस्थापन गरी काम अघि बढाइरहेको सम्बन्धित पक्षले जनाएको छ। गाउँपालिका केन्द्रसम्म सडक पुगेपछि स्थानीयलाई आवागमन, ढुवानी तथा अत्यावश्यक सेवामा सहज हुने अपेक्षा गरिएको छ।