काठमाडौं । रसुवाको स्याफ्रुबेसीमा निर्माणाधीन बेलिब्रिज यसै महिनाको अन्तिम सातादेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालका अनुसार पुलको वारितर्फ फाउन्डेसन निर्माण सम्पन्न भएको छ। अब बेलिब्रिजका सामग्री फाउन्डेसनसम्म पुर्याएर जडानको काम सुरु गरिनेछ।
खोलामा पानीको बहाव उच्च हुँदा मेसिन तथा उपकरण पारि लैजान कठिनाइ भए पनि लामो प्रयासपछि उपकरण पुर्याएर पुलको जग ढलानको काम अघि बढाइएको मन्त्री लम्सालले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
उनका अनुसार आगामी शुक्रबारदेखि बेलिब्रिज जडान सुरु गर्ने कार्यतालिका छ। यसै महिनाको अन्तिम सातासम्म पुल सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।