काठमाडौँ । बाढीपहिरोले क्षतिग्रस्त त्रिशूली नदीका तीन वटा पक्की पुल पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले सहमति दिएको छ । सहमतिसँगै सडक विभागले आगामी एक साताभित्रै ठेक्का आह्वान गर्ने तयारी गरेको छ ।
सडक विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार नुवाकोटको त्रिशूली बजार जोड्ने पुल तथा धादिङ जोड्ने घाटबेसी र फुर्के खोलाका पुल पुनर्निर्माण गर्न लागिएको हो ।
तीनवटै पुल ‘डिजाइन एन्ड बिल्ड’ मोडेलमा निर्माण गरिनेछन् । यसबाट डीपीआर कुर्नुपर्ने समय बचत हुने विभागको अपेक्षा छ ।
गत भदौ १० गतेको बाढीपहिरोले ३७ वटा मोटरेबल पुलमा क्षति पुर्याएको थियो । पुल बगाएपछि प्रभावित क्षेत्रका बासिन्दा लामो घुमाउरो बाटो प्रयोग गर्न बाध्य छन् । यसैगरी, रसुवागढी जोड्ने सडकका स्याफ्रुबेँसी र भोटेकोशीमा बेलिब्रिज जडानको काम पनि अघि बढाइएको विभागले जनाएको छ ।