जनकपुरधाम । जनकपुरधाम र भारतको अयोध्याबीच सञ्चालन हुने सरयू–कमला एक्सप्रेस रेल सेवा शनिबारदेखि व्यावसायिक रूपमा सुरु हुने भएको छ ।
नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गरेको एक साताभित्रै रेल सेवा सञ्चालनको तयारी पूरा हुन लागेको नेपाल रेल्वे कम्पनीले जनाएको छ । नेपालतर्फ बिहीबारदेखि जनकपुरधाम रेल्वे स्टेसनबाट टिकट बिक्री सुरु हुँदैछ भने अनलाइन टिकट भारतीय रेल्वेको प्रणालीबाट लिन सकिनेछ ।
रेल प्रत्येक शनिबार जनकपुरधामबाट अयोध्या जाने र सोमबार फर्किनेछ । यात्राका लागि ३६५ देखि १ हजार ३६० भारतीय रुपैयाँसम्म भाडा निर्धारण गरिएको छ ।
१७ डिब्बा रहने रेलमा चार श्रेणीका सिटको व्यवस्था गरिएको छ । नेपाली यात्रुले टिकट लिन नागरिकता, राहदानी वा मतदाता परिचयपत्रमध्ये एक पेस गर्नुपर्नेछ ।
यो सेवाले जनकपुरधाम र अयोध्याबीच धार्मिक पर्यटन तथा सांस्कृतिक सम्बन्ध विस्तार हुनुका साथै दुवै देशका तीर्थयात्रीलाई आवागमनमा सहज हुने अपेक्षा गरिएको छ ।