काठमाडौँ । सरकारले नेपालमा लगानीको वातावरण सुधार गर्दै व्यवसायीका समस्या समाधान गर्न ९० दिने कार्ययोजना ल्याउने तयारी गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले यूके–नेपाल व्यापार मञ्च २०२६ लाई सम्बोधन गर्दै लगानीका नीतिगत तथा नियामकीय अवरोध हटाउन कार्ययोजना बनाउन लागिएको बताएका हुन् ।
उनका अनुसार पहिलो ३० दिनमा व्यवसायीका समस्या र लगानीका सम्भावना पहिचान गरिनेछ भने त्यसपछिको ६० दिनमा सम्बन्धित सरकारी निकाय र निजी क्षेत्रसँग समन्वय गरी समाधानका उपाय खोजिनेछ ।
मन्त्री साहले जलविद्युत्, नवीकरणीय ऊर्जा, सूचना प्रविधि, उत्पादनमूलक उद्योग र दिगो पूर्वाधार क्षेत्रमा बेलायती लगानीको सम्भावना रहेको औँल्याए । लगानी आकर्षित गर्न नीतिगत स्थिरता, पारदर्शिता र सरकारी निर्णय प्रक्रियामा छिटोपना आवश्यक रहेको उनको भनाइ छ ।
उनले नेपाल–बेलायत सम्बन्धलाई आर्थिक साझेदारीमा रूपान्तरण गर्दै लगानी विस्तार र रोजगारी सिर्जनामा जोड दिनुपर्ने बताए ।