सडक निर्माणमा प्रयोग हुने प्रविधिले सडकको गुणस्तर, टिकाउपन र मर्मतसम्भारमा लाग्ने खर्च निर्धारण गर्छ। सडकमा सवारीसाधनको चाप र भार बढ्दै जाँदा त्यसलाई धान्न सक्ने निर्माण प्रविधिको आवश्यकता पनि बढ्दै गएको छ। यही आवश्यकताका कारण सामान्य बिटुमिनस सतहबाट विकसित हुँदै सडक निर्माणमा डेन्स बिटुमिनस म्याकाडम (DBM) र अस्फाल्ट कङ्क्रिट (Asphalt Concrete) जस्ता आधुनिक हटमिक्स प्रविधि प्रयोगमा आएका हुन्।
विगतमा कम सवारी चाप भएका सडकमा सर्फेस ड्रेसिङ र प्रिमिक्स कार्पेट प्रविधि बढी प्रयोग हुन्थे। यी प्रविधि सामान्य आवागमनका लागि उपयोगी भए पनि भारी मालवाहक सवारीसाधनको चाप बढ्दै गएपछि सडकमा खाल्डाखुल्डी पर्ने, सतह चर्किने, भासिने र छिट्टै मर्मत गर्नुपर्ने समस्या देखिन थाल्यो। त्यसपछि सडकलाई बढी भारवहन क्षमता भएको र लामो समय टिक्ने बनाउने उद्देश्यले संरचनात्मक बिटुमिनस प्रविधिको विकास र प्रयोग विस्तार हुँदै गयो।
अस्फाल्ट कङ्क्रिट प्रविधिको विकास
अस्फाल्ट कङ्क्रिट सडक निर्माणमा प्रयोग हुने बलियो र बाक्लो बिटुमिनस मिश्रण हो। यसमा विभिन्न आकारका गिट्टी, बालुवा, फिलर र बिटुमिनलाई निश्चित अनुपातमा मिसाएर उच्च तापक्रममा तयार गरिन्छ। त्यसपछि तातो अवस्थामा सडकमा बिछ्याएर रोलरको सहायताले कम्प्याक्सन गरिन्छ।
यस प्रविधिको विकास सन् १९०० को सुरुवाततिर भएको मानिन्छ। सन् १८७० को दशकमा बालुवा र बिटुमिन मिसाएर सडकको सतह बनाउने अभ्यास सुरु भए पनि विभिन्न आकारका गिट्टीलाई निश्चित अनुपातमा मिसाएर बाक्लो र मजबुत सडक सतह बनाउने आधुनिक अवधारणा पछि विकसित भएको हो। अमेरिकी इन्जिनियर फ्रेडरिक जे. वारेनले विकास गरेको 'बिटुलिथिक' प्रविधिलाई आधुनिक अस्फाल्ट कङ्क्रिटको विकासक्रममा महत्त्वपूर्ण मानिन्छ।
यसको प्रयोगलाई थप वैज्ञानिक बनाउन सन् १९४० को दशकमा अमेरिकी इन्जिनियर ब्रुस मार्सलले मार्सल मिक्स डिजाइन विधि विकास गरे। दोस्रो विश्वयुद्धका क्रममा भारी सैन्य विमान र सवारीसाधनको भार थेग्न सक्ने विमानस्थलका धावनमार्ग तथा सडक निर्माणको आवश्यकता बढेपछि यो विधि विकसित भएको थियो। यसले बिटुमिनको मात्रा, गिट्टीको मिश्रण, स्थिरता र हावाको रिक्त स्थान परीक्षण गरेर सडक निर्माणको गुणस्तर निर्धारण गर्ने आधार तयार गर्यो।
DBM किन आवश्यक भयो?
अस्फाल्ट कङ्क्रिट सडकको माथिल्लो सतह निर्माणमा प्रयोग हुने प्रविधि हो भने डेन्स बिटुमिनस म्याकाडम (DBM) त्यसको तल्लो भागमा रहने मुख्य भारवहन तहका रूपमा प्रयोग गरिन्छ। सडकमा गुड्ने सवारीसाधनको भारलाई तल्लो संरचनामा समान रूपमा वितरण गर्न DBM ले महत्त्वपूर्ण भूमिका खेल्छ।
दोस्रो विश्वयुद्धपछि बेलायत तथा युरोपमा औद्योगिक र मालवाहक सवारीसाधनको चाप तीव्र रूपमा बढ्यो। त्यसबेला प्रयोगमा रहेका परम्परागत बिटुमिनस म्याकाडम प्रविधिमा पानी पस्ने, गिट्टी खुकुलो हुने र भारी सवारीसाधनका कारण सडक भासिने समस्या देखिन थालेको थियो।
यस्ता समस्या कम गर्न सन् १९५० को दशकको उत्तरार्धदेखि १९६० को दशकसम्म बेलायती इन्जिनियरहरूले बढी सघन मिश्रण भएको DBM प्रविधि विकास गरे। यसमा गिट्टीका विभिन्न आकारका कण, मसिना कण (Fines) र बिटुमिनलाई वैज्ञानिक अनुपातमा मिसाइन्छ। यसले मिश्रणभित्रको खाली ठाउँ कम गरी सडकलाई मजबुत र भारवहन क्षमतायुक्त बनाउन सहयोग गर्छ। पछि यो प्रविधि बेलायती प्राविधिक मापदण्डमा समेत समावेश भयो।
दक्षिण एसियामा DBM र अस्फाल्ट कङ्क्रिटको विस्तार
दक्षिण एसियामा पनि सडक सञ्जाल विस्तारसँगै भारी सवारीसाधन धान्न सक्ने प्रविधिको आवश्यकता बढ्दै गयो। विशेषगरी भारतमा सन् १९६८ मा इन्डियन रोड्स कङ्ग्रेस (IRC) ले IRC:29 मापदण्ड जारी गरेपछि अस्फाल्ट कङ्क्रिटको प्रयोगलाई औपचारिक प्राविधिक आधार प्राप्त भयो।
त्यसैगरी, DBM प्रविधिको प्रयोग र मापदण्ड विकासमा पनि भारतले महत्त्वपूर्ण भूमिका खेलेको छ। सन् १९८४ मा IRC:37 र सन् १९८६ मा IRC:94 लगायतका प्राविधिक मापदण्डले सडकको संरचनात्मक डिजाइन र DBM प्रयोगलाई थप व्यवस्थित बनाएका थिए। यससँगै बढी सवारी चाप हुने राजमार्ग तथा मुख्य सडकमा आधुनिक बिटुमिनस प्रविधिको प्रयोग विस्तार भयो।
नेपालमा आधुनिक सडक निर्माण प्रविधिको प्रयोग
नेपालमा पनि सडकमा सवारीसाधनको चाप र भार बढ्दै जाँदा परम्परागत प्रविधिको विकल्पका रूपमा DBM र अस्फाल्ट कङ्क्रिटको प्रयोग विस्तार भएको हो। विशेषगरी पूर्व–पश्चिम राजमार्गको स्तरोन्नति, विमानस्थलका धावनमार्ग तथा अन्तर्राष्ट्रिय विकास साझेदारको सहयोगमा निर्माण र स्तरोन्नति गरिएका मुख्य सडक आयोजनामा आधुनिक हटमिक्स प्रविधि प्रयोग हुन थालेको हो।
सन् १९८० को उत्तरार्ध र १९९० को दशकदेखि नेपालमा ब्याच टाइप हटमिक्स प्लान्ट र सेन्सर पेभरजस्ता उपकरणको प्रयोग बढ्दै गएको पाइन्छ। यस्ता उपकरणले गिट्टी, बिटुमिन र अन्य सामग्री निश्चित अनुपातमा मिसाउन तथा सडकमा आवश्यक मोटाइ र सतहको समानता कायम राख्न सहयोग गर्छन्।
हाल सडक विभागको 'स्ट्यान्डर्ड स्पेसिफिकेसन फर रोड एन्ड ब्रिज वर्क्स' अनुसार सडकको प्रकृति, सवारी चाप र डिजाइन आवश्यकताका आधारमा DBM तथा अस्फाल्ट कङ्क्रिटलगायतका प्रविधि प्रयोग गरिन्छ।
सडकको गुणस्तरमा प्रविधिसँगै निर्माण प्रक्रिया पनि महत्त्वपूर्ण
DBM र अस्फाल्ट कङ्क्रिट प्रयोग गर्दैमा सडक स्वतः टिकाउ हुन्छ भन्ने हुँदैन। सडकको गुणस्तरका लागि गिट्टीको उपयुक्त ग्रेडिङ, बिटुमिनको मात्रा, मिश्रणको तापक्रम, बिछ्याउने विधि, कम्प्याक्सन र निर्माणपूर्वको आधार तहको अवस्था उत्तिकै महत्त्वपूर्ण हुन्छ।
निर्माणमा प्रयोग हुने सामग्रीको गुणस्तर परीक्षण, प्राविधिक मापदण्डको पालना र नियमित अनुगमन हुन नसके आधुनिक प्रविधिबाट निर्माण गरिएको सडकसमेत छोटो समयमै बिग्रन सक्छ।
त्यसैले सडकको प्रकृति र सवारी चापअनुसार उपयुक्त प्रविधि छनोट गर्नुका साथै निर्माणको प्रत्येक चरणमा गुणस्तर नियन्त्रण आवश्यक हुन्छ। प्रारम्भिक निर्माण लागत मात्रै नभई सडकको आयु, नियमित मर्मतसम्भार र दीर्घकालीन सञ्चालन खर्चलाई समेत आधार बनाएर प्रविधि छनोट गर्न सके मात्रै सडक पूर्वाधारमा गरिएको लगानीको प्रभावकारी उपयोग हुन सक्छ।