काठमाडौं । स्वीकृत लागत अनुमानभन्दा सारभूत रूपमा बढी रकम कबोल गर्ने निर्माण व्यवसायीको प्रस्ताव औसत अंक गणनामा समावेश नगरी सार्वजनिक खरिद प्रक्रिया अघि बढाउन बाटो खुलेको छ। सर्वोच्च अदालतले यस विषयमा जारी अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश गरेसँगै ठेक्का मूल्यांकनमा देखिएको अन्योल हटेको हो।
यस अगाडी केहि निर्माण व्यवसायीले अनुमानित रकम भन्दा बढी कबोल गरेका निर्माण व्यवसायीको कबोल अंक समावेश नगरि खरिद प्रकृया अगाडी बढाएको भन्दै पूर्वाधार विकास मन्त्रालयलाई विपक्षी बनाई रिट दायर भएकोमा सर्वोच्च अदालतबाट अल्पकालीन अन्तिम आदेश भइ ठूला आयोजनाको खरिद प्रकृया समेत रोकिएको थियो ।
सर्वोच्च अदालतको पछिल्लो आदेशसँगै बढी कबोल गर्ने बोलपत्रदाताको रकम औसतमा समावेश गर्ने वा नगर्ने विषयमा देखिएको कानुनी अन्योल हटेको छ। अब सम्बन्धित निकायले प्रचलित कानुन र समितिको आदेशअनुसार रोकिएका मूल्यांकन प्रक्रिया अघि बढाउन सक्नेछन्। आदेशको पूर्णपाठ सार्वजनिक भएपछि यसको दायरा र मूल्याङ्कन प्रक्रियामा पर्ने प्रभाव थप स्पष्ट हुनेछ।
यसअघि सार्वजनिक खरिद पुनरावलोकन समितिले पनि यही विषयमा महत्त्वपूर्ण निर्णय गरेको थियो। स्वीकृत लागत अनुमानभन्दा बढी रकम कबोल गरेका बोलपत्रदाताको प्रस्तावसमेत समावेश गरी औसत अंक गणना गरिएको भन्दै परेको उजुरीमाथि सुनुवाइ गर्दै समितिले त्यस्ता प्रस्ताव मूल्यांकनबाट हटाउन आदेश दिएको थियो। तर केहि निर्माण व्यवसायीले त्यस निर्णयको विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।