सिरहा । सिरहाको मिर्चैया नगरपालिका–१ रामपुर बिर्तामा वर्षौंदेखिको सिँचाइ समस्या समाधान गर्न निर्माण गरिएको डिप बोरिङ सञ्चालनमा आएको छ। डिप बोरिङ सञ्चालनसँगै करिब १०० बिघा खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुग्ने अपेक्षा गरिएको छ।
एक करोड ८० लाख रुपैयाँ लागतमा निर्माण गरिएको डिप बोरिङको नेपाली कांग्रेस सिरहाका सभापति रामचन्द्र यादवले उद्घाटन गरेका हुन्। सङ्घीय सरकारबाट विनियोजित बजेटमा तत्कालीन सांसद मञ्जु खाँणको पहलमा योजना अघि बढाइएको थियो।
यसअघि आकाशे पानीको भरमा खेती गर्दै आएका किसानले समयमा वर्षा नहुँदा उत्पादनमा समस्या भोग्दै आएका थिए। डिप बोरिङ सञ्चालनमा आएपछि सहज सिँचाइ हुने र कृषि उत्पादन तथा किसानको आम्दानी बढ्ने अपेक्षा गरिएको छ।