काठमाडौं। मुख्यमन्त्री जीवनबहादुर शाहीले निजी क्षेत्रको सहयोगबिना प्रदेशको विकास सम्भव नभएको भन्दै कर्णालीमा लगानी गर्न आग्रह गरेका छन्। सुर्खेत उद्योग वाणिज्य सङ्घको वार्षिक साधारणसभालाई गत शनिबार सम्बोधन गर्दै उनले कर्णालीमा लगानीका लागि उपयुक्त स्थान भएको जानकाररी गराएका छन्।
मुख्यमन्त्री शाहीले जलविद्युत्, जडीबुटी, खानी र कृषिजन्य क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई आह्वान गरेका छन्। उनले कोरोना महामारीका कारण प्रदेश सरकारले अघिल्ला दुई वर्षदेखि लगानी सम्मेलन आयोजना गर्न नसकेको बताएका छन्। त्यस्तै नेपाल उद्योग वाणिज्य महासङ्घका जिल्ला–नगर उपाध्यक्ष दिनेश श्रेष्ठले लगानीमैत्री वातावरण नभएकै कारण कर्णालीमा आर्थिक गतिविधि बढ्न नसकेको विचार व्यक्त गरेका छन्।
त्यसैगरी सोही अवसरमा सुर्खेत उद्योग वाणिज्य सङ्घले मुख्यमन्त्री शाहीलाई २५ बुँदे मागपत्र बुझाएको छ। सङ्घले कर्णालीको आर्थिक विकासका लागि एक जिल्ला एक उद्योग स्थापना, चौकुने र लखरपाटा सिमेन्ट उद्योग, माथिल्लो कर्णाली जलविद्युत् आयोजना, अग्र्यानिक कृषि अनुसन्धान केन्द्र, जडीबुटी सङ्कलन तथा प्रशोधन केन्द्र र प्रादेशिक मेडिकल कलेजको स्थापना तथा सञ्चालनका लागि आवश्यक पहल गर्नुपर्नेलगायत माग समेटेर ज्ञापनपत्र बुझाएको हो।