काठमाडौं। नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले आगामी मंसिर १० देखि सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतले हुने १३ करोड ७५ लाख रुपैयाँ १३ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये कम्पनी पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि सार्वजनिक निष्कासन गर्न स्वीकृत पाएको सेयरको १० प्रतिशतले हुने १ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख ३७ हजार ५०० कित्ता सेयर निष्कासन गरी बाँडफाँट गरिसकेको छ।
यस्तै धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार २७ हजार ५०० कित्ता सेयर आफ्ना कर्मचारीका लागि र ६८ लाख ७५ हजार ५०० बराबरको ६८ हजार ७५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ । बाँकी रहेको ११ करोड ४१ लाख २५ हजार रुपैयाँ बराबरको ११ लाख ४१ हजार २५० कित्ता सेयरका लागि कम्पनीले १० मंसिरदेखि सर्वसाधारणबाट आवेदन माग गर्न लागेको हो ।