काठमाडौं। गुह्येश्वरीमा पाँच करोड रुपैयाँको लगानीमा चार पाङ्ग्रे सवारी सर्भिस सेन्टर ‘स्पार्क अटोकेयर’ खुलेको छ। गुह्वेश्वरी मार्गमा ३० हजार स्क्वायर फिट क्षेत्रफलमा उक्त लगानीको सर्भिस सेन्टर सञ्चालनमा आएको हो। अटोकेयर असोज १ गतेदेखि आंशिकरुपमा सञ्चालनमा आएको कम्पनीले जानकारी दिएको छ। यसैगरी उपत्यकामा राम्रो सर्भिस सेन्टर नहुँदाको समस्यालाई मध्यनजर गर्दै ठूलो लगानीमा सुविधायुक्त सर्भिस सेन्टर सञ्चालनमा ल्याएको जनाइएको छ।
यो सर्भिस सेन्टरको ठूलो क्षेत्रफल र ठूलो भवन मात्र नभएर सेवा पनि राम्रो भएको जनाइएको छ। उक्त सर्भिस सेन्टरले एकै दिन ३० वटासम्म चार पाङ्ग्रे निजी सवारीलाई सेवा दिन सक्ने बताइएको छ। कुल १८ जना कर्मचारी आबद्ध अटोकेयरमा प्रमुख मेकानिकल इञ्जिनियरसहित चार मेकानिक्स रहेका छन्।
उक्त अटोकेयरले हाल इलेक्ट्रिक भेहिकल बाहेकका सवारीलाई सेवा दिँदै आएको छ। साथै सवारी साधनहरुले अटोकेयरमा सर्भिसिङ गराउँदा २० प्रतिशतसम्म छुट पाउने गरेको कम्पनीले जनाएको छ। यसैगरी कम्पनीकी व्यवसाय विकास प्रबन्धकले हाल उपत्यकामा मात्र सञ्चालनमा रहेको सो सर्भिस सेन्टरभावी दिनमा सात वटै प्रदेशमा विस्तार गर्ने योजना रहेको जानकारी दिएका छन्। यस्तै, अबको ६ महिना भित्रै अटोकेयरमा इलेक्ट्रिक भेहिकलको समेत सर्भिसिङ सुरु गर्ने जनाइएको छ। यसका साथसाथै यस कम्पनीले मोबाइल एप्सको समेत सञ्चालन गर्ने योजना बनाएको छ। सेवाग्राहीको सवारीको स्थिती र अवस्थाबारे जानकारी दिन तथा सेवाग्राहीको जिज्ञासा अनलाइनबाटै सुनुवाई गर्न एप्स सञ्चालनमा ल्याउने योजना बनाएको हो।