काठमाडौं। ऐन कानुन बनाउन भइरहेको ढिलाइको कारणले कैलालीको ‘गेटा मेडिकल कलेज’लाई कुन प्रारूपमा सञ्चालन गर्ने भन्नेमा अन्योल सिर्जना भएको छ।
कसैबाट पनि ऐन कानुन बनाउन ‘लबिङ’ नभएको हुनाले जनताले अपेक्षा गरेको समयभित्रै कलेज सञ्चालन हुने अवस्था नरहेको र ऐन ल्याउने कुरा सरकार र संसदसँग जोडिएकाले त्यसका लागि हालसम्म पहल नभएको कारण कलेज सञ्चालन अन्योलमा परेको कुरा कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले जानकारी दिएका हुन्।
हालसम्म कलेज सञ्चालनसम्बन्धी विधेयकको मस्यौदासम्म पनि तयार हुन नसकेको अवस्थामा कलेज सञ्चालन हुन अझै डेढ दुई वर्ष पर्खिनुपर्ने देखिएको उनले जनाएका छन्। ऐन कानुन बनिसकेपछि पनि कलेजमा स्वास्थ्यसम्बन्धी उपकरण र प्राविधिक जनशक्ति लगायतको व्यवस्थापनजस्ता काम गर्न समय लाग्ने देखिएको छ।
सरकारको प्राथमिकता प्राप्त आयोजना गेटा मेडिकल कलेज निर्माणस्थलमा निर्माण गर्नुपर्ने ३६ भन्दाबढी भवन संरचनामध्ये २९ वटाको निर्माण पूरा भइसकेको छ भने थप केही संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ। अक्सिजन प्लान्ट, कुरुवा घर, लास घर, जस्ता संरचनाको निर्माण पूरा भइसकेको र हाल अस्पताल, कलेज, छात्राबास, आवास भवन निर्माणको अन्तिम चरणमा पुगेका छन्। यसैगरी भवनमा फर्निचर, पानी, विद्युतीकरण र फोहर व्यवस्थापनको काम पनि भइरहेको छ।
सरकारले छुट्याएको ५१ दशमलव ८ हेक्टर जग्गामा कलेज निर्माण भइरहेको छ। यसैगरी कलेजको भोगाधिकारमा रहेको जग्गामध्ये झण्डै ६ बिघा जग्गामा मुक्तकमैया परिवारको बसोबास रहेको हुनाले त्यसलाई अन्यत्र पुनःस्थापना गरी सो जग्गामा मेडिकल कलेजको ट्रमा सेन्टर बनाउने योजना रहेको छ।
कलेजका संरचनाको निर्माण पूरा भएसँगै आफ्नै गाउँठाउँमा मेडिकल शिक्षा अध्ययन गर्न पाउने स्थानीयको आशा रहेको छ। यसले मेडिकल पढ्नेमात्र नभई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नमा समेत योगदान पुर्याउने अपेक्षा रहेको छ। मेडिकल कलेज निर्माण सुरू गरिँदा रु ८ अर्ब ३४ करोड लागत अनुमान गरिएको यस आयोजनाको गुरूयोजना अध्यावधिक हुँदा निर्माणको लागत अनुमान बढ्ने जनाइएको छ। हालसम्म भौतिक संरचना निर्माणमा रु ४ अर्ब ५० करोड खर्च भइसकेको छ।
सरकारले विसं २०६६ मा कैलाली जिल्लाको गेटामा मेडिकल कलेज स्थापनाको घोषणा गरेको भएपनि भौतिक संरचना निर्माणको काम भने विसं २०७४ देखि मात्र सुरू भएको थियो। उक्त कलेज ६०० शय्याको निर्माण गर्ने लक्ष्य रहेको छ।उक्त कलेजका अस्पताल भवन लगायतका संरचनाको निर्माणमा शर्मा राजेन्द्र कुमार कम्पनी, लुम्बिनी कुमार केएस् र रविना कन्ट्रक्सन प्रालि संलग्न रहेका छन्।