कर्णाली । विपद्का हिसाबले मुलुकको अत्यन्तै जोखिम मानिने कर्णालीमा ‘प्रदेश स्वास्थ्य आपत्कालीन तयारी र प्रतिकार्य योजना’ निर्माण गर्न थालिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडियोमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आयोजना र स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशको समन्वयमा उक्त प्रतिकार्य योजना निर्माण गर्न थालिएको हो । यसका लागि सुर्खेत वीरेन्द्रनगरमा तीन दिनसम्म हुने ‘प्रदेश स्वास्थ्य आपत्कालीन तयारी र प्रतिकार्य योजनासम्बन्धी कार्यशाला’ बिहीबारदेखि सञ्चालन भएको छ ।
कार्यशाला उद्घाटन गर्दै कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले विपद्का लागि जोखिम न्यूनीकरण र प्रतिकार्यका लागि जनशक्ति र स्रोत आवश्यकता औँल्याए । कर्णालीको भूगोलअनुकूल विपद् प्रतिकार्यका लागि तत्काल खर्च गर्ने स्रोत जुटाउन कठिन हुने गरेको उनको भनाइ थियो ।
राष्ट्रिय तथा अन्तरराष्ट्रिय तालिमप्राप्त जनशक्तिहरू सङ्ख्यामा धेरै भए पनि प्रतिकार्यमा फिल्ड खटिने सङ्ख्या कम भएको टिप्पणी गर्दै मन्त्री भण्डारीले कार्यान्वयन हुने योजनाहरूको निर्माण र त्यसको रुपरेखा तयार कार्याशालाबाट सहयोग पुग्ने बताए।