काठमाडौं। काठमाडौँ उपत्यकाको कोटेश्वर–जडीबुटी सडक विस्तारको एकातर्फ काम सकिएको छ । सडक विस्तारको दक्षिणतर्फको काम पूरा भएको हो।
उत्तरतर्फ काम भइरहेको डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ। दक्षिणतिर चिसो नआउँदा नै सकिएको तर उत्तरतर्फ तल्लो भागको काम सकाउँदा नै चिसो बढिसकेको डिभिजनका सूचना अधिकार इञ्जीनियर सुमित केसीले बताए। चिसो सकिनासाथ कालोपत्र समेत हुने भएकाले चैतसम्ममा निर्माण कार्य सम्पन्न हुने भएको छ।
उत्तरतर्फको निर्माणस्थलमा रहेको एउटा घरका कारणले पनि विस्तारमा समस्या भएको डिभिजनले जनाएको छ। घरधनी स्थानान्तरणका लागि सहमत नभएपछि अहिले सो विषय मुद्दामा छ। कोभिड सङ्क्रमणका लागि असर पुगेका अरु ठेक्का जसरी यो ठेक्काको अवधि आगामी चैतसम्मका लागि थप भएको छ। त्यतिबेलामासम्म निर्माण सकिने इञ्जीनियर केसीले बताए। काममा अवरोध नभए ‘बेस’ एक सातामा र ‘ओभरले’ एक साता गरी जम्मा दुई सातामा सम्पन्न हुने उनको भनाइ छ।
काठमाडौँ उपत्यका भित्रने एक प्रमख नाकाका रूपमा यो सडक रहेको छ। खासगरी प्रदेश १ र मधेस प्रदेशसँगै बागमती प्रदेशका विभिन्न जिल्लाबाट उपत्यका भित्रिनका लागि यही नाका छ। अरनिको, मध्यपहाडी, बिपीलगायतका राजमार्गका कारण पनि सडकको चाप बढिरहँदा यहाँ सडक घण्टौँ जाम हुने गरेको थियो। सबैतिरबाट सवारीसाधन आउने तर चोक सानो हुँदा भीडभाड हुने गरेको थियो। चोक चौडा गरेसँगै जाम नियन्त्रणमा सहजरुपमा हुने अपेक्षा गरिएको छ।