काठमाडौं। रुकुम पश्चिम जिल्लाका सबै पालिकामा अस्पताल निर्माण हुने भएका छन्। जिल्लाका ५ स्थानीय तहमा अस्पताल बनिसकेका छन् भने बाँफिकोट गाउँपालिकाले निर्माण सुरु भएका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृति दिएपछि बाँफिकोटले अस्पताल निर्माको काम अघि बढाएको बताइएको छ। जसका लागि मन्त्रालयबाट १२ करोड रुपैयाँको बजेट स्वीकृत भइसकेको गाउँपालिकाले जनाएको छ। ४ नम्बर वडाको छिन्खेतमा अस्पताल बन्नेछ। आवश्यक जग्गाको व्यवस्थापन यसअघि नै भइसकेको र अस्पताल भवन निर्माणका लागि ३८ सय वर्गमिटर जग्गाको व्यवस्थापन गाउँपालिकाले गरेको छ।
मुसीकोट नगरपालिकामा जिल्ला अस्पताल रहेको छ। यसैले नगरपालिकाले ४ नम्बर वडाको सोलावाङमा अस्पताल बनाउने निर्णय गरेको छ। ६ नम्बर वडाको झुल्खेतमा ल्याब सहितको सेवा सुरु गरेको छ। बाँकी ४ स्थानीय तह आफैले अस्पताल बनाएर सेवा दिइरहेका छन्। आठबीसकोटले ९ नम्बर वडाको राडी, चौरजहारीले १० नम्बर वडाको खोलागाउँ र त्रिवेणीले ३ नम्बर वडाको खारानेटामा अस्पताल स्थापना गरी डाक्टरी सेवा दिइरहेको छ।
सानीभेरी गाउँपालिकाले ७ नम्बर वडाको छोटेबगरमा २ वर्षदेखि डाक्टरबाटै उपचार प्रवाह गरिरहेको छ। सबै पालिकामा अस्पताल निर्माण भएपछि सबै पालिकाका स्थानीयवासीलाइ सहज हुने विश्वास गरिएको छ। अब आफ्नो आफ्नै पालिकामा अस्पताल निर्माण हुने भएपछि उपचारको लगि सहज हुने स्थानीयले बताए।