रुपन्देही । नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीलाई काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । बिहीबार भैरहवामा आयोजित लुम्बिनी निर्माण व्यवसायी सङ्घ, रुपन्देहीको १९औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहमा अध्यक्ष सिंहले राज्यले निर्माण व्यवसायीलाई काम गर्ने वातावरण बनाउनुपर्ने बताएका हुन् ।
उनले अहिलेको स्थितिमा उद्योगी–व्यवसायी सङ्कटमा रहेको उल्लेख गर्दै सुशासनको अनुभूति दिलाउन नागरिक सरकार सचेत हुनुपर्ने समेत बताए । अध्यक्ष सिंहले भने, “आमजनतालाई सुशासनको अनुभूति दिलाउन नागरिक सरकार सचेत हुनुपर्छ । अहिलेको स्थितिमा उद्योगी–व्यवसायी सङ्कटमा छन् । मुलुकको समृद्धिको सम्वाहक निर्माण उद्योगी–व्यवसायी हुन्।”
अध्यक्ष सिंहले जेनजी विद्रोहबाट बनेको यो सरकारको म्याण्डेट र जनताको अपेक्षा बुझ्न प्रधानमन्त्री सुशीला कार्कीलाई आग्रह गरे । उनले विगतमा एउटै निर्माण कम्पनीले सयौँ काम गर्ने जिम्मेवारी लिँदा समयमै काम नभएको र त्यसले नकारात्मक सन्देश गएकाले त्यसलाई कम गर्ने प्रयास गरिएको बताए ।