काठमाडौं । टोखा नगरपालिकाको ‘एक वडा, एक पार्क’ नीतिअनुसार वडा नम्बर ९ ले पार्क बनाउने प्रक्रिया सुरु गरेको छ । वडा अध्यक्ष रामभक्त घिमिरेले टोखा नगरपालिकाले लिएको नीतिअनुसार बागमती सभ्यतासँग सहकार्य गरेर एउटा पार्क बनाउने प्रक्रियामा रहेको बताएका हुन् ।
उनले टोखा नगरपालिकाले पूर्वाधारको पक्षमा ८५ प्रतिशत काम सकिसकेको भन्दै स्वास्थ्य, शिक्षा, खानेपानी, वातावरण लगायत विभिन्न क्षेत्रमा काम गरिरहेको बताए ।
उनले भने, ‘पूर्वाधारमा हामी ८५ प्रतिशत काम सकिसकेका छौं र स्वास्थ्य, शिक्षा, खानेपानी, वातावरण लगायत विभिन्न क्षेत्रमा काम गरिरहेका छौं । टोखा नगरपालिकाले लिएको नीतिअनुसार, ‘एक वडा, एक पार्क’ भने जस्तै, हामीले बसपार्कको नजिकै बागमती सभ्यतासँग सहकार्य गरेर एउटा पार्क बनाउँदै छौँ । झन्डै ३ रोपनी जग्गामा फैलिएको पार्कले के गर्छ भने, यो एसियाको नमुना बसपार्कको अगाडि रहेको छ । यसले टोखाको समग्र झलक दिनेछ र त्यो पार्क झनै अन्तिम चरणमा पुगेको छ ।’
यस्तै, उनले प्रतिबद्धता अनुसारको खानेपानी पुर्याउन नसकेको भन्दै त्यसको लागि यसपालि बजेट विनियोजन भएको र मेलम्ची खानेपानीसँग पनि सहकार्य गरेर अगाडि बढिरहेको बताए ।