रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाको पकरबास–गोगनपानी–गाल्पा सडकको निर्माणकार्य तीव्र रूपमा अघि बढेको छ ।
कूल १० किलोमिटर लामो सो सडकको सिकारी डाँडादेखि घ्याङसिङ डाँडासम्मको भाग कालोपत्रे गर्ने काम सकिएको छ ।
अब घ्याङसिङडाँडादेखि गाल्पासम्मको सडक पिचको काम सुरु गर्ने अर्याल कन्स्ट्रक्सन सनका श्याम अर्यालले जानकारी दिए ।
अर्यालले कामको हिसाबले ४० प्रतिशत पिचको काम भएको र अन्य स्ट्रकचरको काम भने ६० प्रतिशत भन्दा बढी सम्पन्न भएको बताए । ‘अब सबै काम सकेर मात्र यहाँबाट हिँड्छौँ’, उनले भने ।
जिल्ला पूर्वाधार विकास कार्यालय रामेछापका सबइञ्जिनियर महेन्द्र साहका अनुसार सिकारी डाँडादेखि गाउँपालिका कार्यालयसम्म ४२ सय मिटर सडक पिच भएको छ ।
दोस्रो चरणमा गाउँपालिका कार्यालयबाट ४ किलोमिटर सडक पिच गरिने छ भने त्यस पछि बाँकी २ किलोमिटर सडक पिच हुने छ । ‘यस आर्थिक वर्ष भित्र सबै काम सम्पन्न हुन्छ’, उनले भने ।
दिवार ओमबुद्ध÷अर्याल कन्स्ट्रक्सनले ४३ करोड रुपैँयामा १८ महिनाभित्र काम सम्पन्न गर्ने गरी २०७८ सालमा सो सडकको ठेक्का सम्झौता गरेको थियो । बारम्बार म्याद थप गर्दा पनि सडकको कामले गति लिन सकेको थिएन ।
सडकको काम समयमा नगरेको भन्दै स्थानीय जनप्रतिनिधिहरूले यसअघि जिल्ला पूर्वाधार विकास कार्यालय रामेछापमा तालाबन्दी समेत गरेका थिए ।