दोलखा। माथिल्लो तामाकोसी जलविद्युत आयोजना ४५६ मेगावाटको सबैभन्दा ठूलो जलविद्युत आयोजना गत वर्ष विद्युतको राष्ट्रिय प्रणालीमा जोडियो। वर्षात्का बेलासमेत भारतबाट खरिद गरेर वितरण गरिरहेको बेला माथिल्लो तामाकोसी सहितका आयोजना पूरा भएपछि गत वर्षको वर्षात्मा पाँच सय मेगावाट विद्युत खेर गयो।
तर यही बेला औद्योगिक क्षेत्रमा समेत पहिलो पटक १३२ केभी प्रसारण लाइनमार्फत विद्युत जोडिँदै आएको छ। २०७८ साल नेपालको विद्युत उत्पादनका हिसाबले अहिलेसम्मको ऐतिहासिक बनेको छ । एकै वर्ष ७२० मेगावाट विद्युत प्रणालीमा जोडिएको हो। यो अहिलेसम्मकै धेरै हो।
प्रणालीमा जोडिएका दुई तिहाइ विद्युत दोलखा जिल्लामा निर्माण भएका जलविद्युत आयोजनाबाट मात्र जोडिएका छन्। दोलखाबाट ४५६ मेगावाटको माथिल्लो तामाकोसीसहित २५ मेगावाटको सिंगटी खोला जलविद्युत आयोजना, ११ मेगावाटको तल्लो खारे खोला र सात मेगावाटको सुरीखोला २०७८ मै पूरा भई विद्युत उत्पादन गरिरहेका छन्।
जलविद्युत मात्र होइन। प्रसारणलाइन विस्तारका हिसाबले पनि २०७८ सम्झनलायक भयो। ढल्केबर सबस्टेसनपछिको दोस्रो ठूलो न्यू खिम्ती सबस्टेसन २२०।१३२ केभी क्षमता सबस्टेसन वर्षको अन्तिमतिर प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरे। गोगर–खिम्ती २२० केभी प्रसारणलाइनसहित नयाँ खिम्ती सबस्टेसनसमेत माथिल्लो तामाकोसीले नै निर्माण गरेको हो। यो सबस्टेसन सञ्चालनमा आएसँगै लिखु चार को ५२.४ मेगावाट र लिखु ‘ए’ बाट उत्पादित २४।२ मेगावाट विद्युत जोडिएको छ .। यो विद्युत काठमाडौं र तराई हुँदै भारतसँग पनि आदानप्रदान गर्न सकिन्छ।
अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले विद्युत विकासका लागि २०७८ कोसेढुङ्गा सावित भएको बताए। देशको अर्थतन्त्रको विकास र वैदेशिक व्यापारमा आयात घटाउन यो आयोजनाले ठूलो सघाउ प(याएको छ।
ठेकेदारकै कारण एक दशक ढिलाइ भएको सिंगटी–लामोसाँघु १३२ केभीको प्रसारणलाइन पनि गत वर्ष नै सञ्चालनमा आयो। सिंगटी–लामोसाँघु प्रसारणलाइन सञ्चालनमा आएपछि दोलखाको उत्तरी क्षेत्रमा गत वर्ष नै पूरा भएका सिंगटी खोला २५ मेगावाट, ११ मेगावाटको तल्लो खारेखोला र सात मेगावाटको सुरी खोलाको राष्ट्रिय प्रणालीमा जोडिएको आयोजना प्रमुख राजन ढुंगेलले जानकारी दिए। त्यसैगरी यही प्रसारणलाइन सञ्चालनमा नआउँदा विद्युत खेर गएका १० मेगावाटको सिप्रिङ खोला र पाँच मेगावाटको घट्टेखोला जलविद्युत आयोजनाको विद्युतसमेत खेर नजाने गरी जोडिएका छन्।
दोलखाबाट चालू आर्थिक वर्षमा पाँच सय मेगावाट विद्युत थपिएसँगै नेपालको विद्युतको राष्ट्रिय प्रणालीमा जडित क्षमता दुई हजार १ सय ५० मेगावाट पुगेको छ। तर अधिकाँश आयोजना नदी प्रवाहमा आधारित भएकाले यो सुक्खा सिजनमा क्षमताको एक तिहाइमात्र उत्पादन हुन्छन्। यो सिजनमा विद्युतको माग धान्न भारतबाट आयत गर्नुपर्ने बाध्यता कायमै छ। तर अर्धजलाशययुक्त माथिल्लो तामाकोसीको भने दिउँसो र राति पानी जम्मा गरेर माग उच्च भएको साँझ र बिहान पूर्ण क्षमतामा सञ्चालन भइरहेको छ। तेल र कोइलाको अन्तर्राष्ट्रिय मूल्य उच्च भइरहेका बेला भारतबाट प्रतियुनिट ३८ रुपैंयासम्म भुक्तनी पिक समयमा विद्युतका लागि ऊर्जामा अर्बौं व्यापार घाटालाई रोक्न माथिल्लो तामाकोसीले ठूलो मद्दत गरेको छ। आजको कारोबार दैनिकबाट