काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा जोरपाटी चोकमा ट्राफिक लाइट जडान गरिएको छ । जोरपाटीसहित आसपासका क्षेत्रमा सडक दुर्घटना न्यूनीकरण तथा सहरी ट्राफिक व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले ट्राफिक लाइट जडान गरिएको हो ।
ट्राफिक लाइटको एक कार्यक्रमका बीच काठमाडौँ उपत्यका प्रहरी प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले उक्त उद्घाटन गरे । उनले अहिलेको समयमा पनि ट्राफिक प्रहरीले सडकमा हात हल्लाएर सवारी व्यवस्थापन गर्नु परिरहेको उल्लेख गर्दै नयाँ प्रविधिको प्रयोगले ट्राफिक व्यवस्थापन सहज र प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
उनले भने, “एकाइसौँ शताब्दीमा हामी अझै पनि परम्परागत ढङ्गबाट सवारी व्यवस्थापन गरिरहेका छौँ । ट्राफिक लाइटको प्रयोगले व्यवस्थापनमा गुणात्मक सुधार ल्याउनेछ । सवारी दुर्घटना घटाउन, सहरी ट्राफिकलाई वैज्ञानिक ढङ्गले व्यवस्थापन गर्न यस्ता प्रविधि अपरिहार्य छन् ।”
प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले समाजमा शान्तिसुरक्षामा खलल पुर्याउने, अपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरूलाई कुनै पनि हालतमा नछाडिने स्पष्ट पारे । उनले पछिल्लो समय ‘जेनजी’ प्रदर्शनका क्रममा प्रहरी संरचनामा भएको क्षति तथा प्रहरीको हतियार लुटिएको विषय गम्भीर अपराध भएको बताउँदै दोषीलाई कानूनी दायरामा ल्याउने प्रक्रिया तीव्र रूपमा अघि बढिरहेको जानकारी दिए।